आयोजनाबाट वार्षिक रु १० अर्ब आर्जन हुने दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिमा अगाडि बढ्ने भएकाले पछाडि फर्कने स्थिति नरहेको बताउनुभएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटारस्थित मरिन नदी तटमा सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशामा अघि बढेको कुरामा ढुक्क हुन जनतासँग आग्रह गर्नुभयो ।
‘यो आयोजना सम्पन्न भएसँगै एक लाख ८५ हजार बिघा जग्गामा सिँचाइ सुविधा पुग्नेछ, मधेशका फाँट हराभरा हुनेछन्, आयोजनाले ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष लिएको छ’- उहाँले भन्नुभयो ।
आयोजनाको सफलतासँगै सिन्धुलीसहित मधेशका जिल्लामा किसान नयाँ युगमा प्रवेश गर्ने प्रधानमन्त्रीको भनाइ छ । सरकार दत्तचित्तसाथ समृद्धि अभियानमा लागेको हुँदा अब जनताका दुःखका दिन चाँडै सकिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।
जनतालाई आवश्त बनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘देशले विकासको गति लिई सक्यो, तपाईंहरु ढुक्क हुनुहोस् । अब मुलुक पछाडि फर्कदैन ।’ यो आयोजनासँगै सुनकोसी कमला डाइभर्सन आयोजना निर्माणको काम थालिने र त्यसले एकलाख ७० हजार बिघा जमीनमा सिँचाइ सुविधा पुऱ्याउने प्रधानमन्त्रीको भनाइ थियो ।
‘अब प्रदेश-२ हराभरा बगैँचा बन्नेछ’, प्रधानमन्त्रीले भन्नुभयो- ‘मलाई मधेश विरोधी भन्नेहरू यी आयोजनाको सफलताबाट नाजवाफ हुनेछन् ।’ यो आयोजना नहर मात्र नभएर विद्युत् उत्पादन र सिञ्चाई सुविधाले जमीन मुनीको पानीको सतहमाथि ल्याउने भएको हुँदा बहुद्देश्यीय भनिएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोजनाले हिमाली नदीको पानीलाई पहाडी नदीसँग जोडेर मधेश झार्ने भएकोले तीनै भूगोलका जनतालाई जोड्ने ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोविड-१९ विरुद्धको लडाइँ नेपालीले जित्दै गएका उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकारले पूर्वपश्चिम हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको बताउनुभयो । त्यसैगरी मुलुकबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको चर्चा गर्नुभयो । मुलुक अब आधुनिकतातर्फ प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अबको तिहारमा नेपाली विद्युतीय बसमा चढेर यात्रा गर्ने बताउनुभयो ।
समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सुनकोशी-मरिन डाइभर्सन आयोजना मुलुकको आर्थिक क्रान्तिको महत्वपूर्ण हिस्सा बन्ने उल्लेख गर्नुभयो । त्यसैगरी समारोहमा शहरी विकासमन्त्री प्रभु साहले प्रदेश-२ को विकासमा सुनकोशी मरिन र सुनकोशी-कमला डाइभर्सन आयोजना महत्वपूर्ण उपलब्धि हुने उल्लेख गर्नुभयो ।
समारोहमा आयोजनाका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले कार्य सम्पन्न भएपछिका दिनमा आयोजनाबाट वार्षिक रु १० अर्ब आर्जन हुने बताउनुभयो ।
नेपाल सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको र आव २०८२/८३ सम्म आयोजना निर्माण गरिसक्ने समय सीमा तय गरिएको महानिर्देशक राजभण्डारीको भनाइ छ ।
प्रतिक्रिया