विप्लव नेतृत्वको नेकपा र नेपाल सरकारबीच ऐतिहासिक सहमति

विप्लव नेतृत्वको नेकपा र नेपाल सरकारबीच ऐतिहासिक सहमति


सरकारद्वारा हिजो मात्र प्रतिबन्ध फुकुवा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव को उपस्थितिमा दुवै पक्षबीच सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले हस्ताक्षर गरे। दुवै पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति यसअघि भएको थियो ।

आज राजधानीस्थित राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’बीच सरकारका तर्फबाट वार्ताटोलीको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका तर्फबाट वार्ताटोलीका संयोजक रहेका प्रकाण्डले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सरकार र नेकपाबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब नयाँ युगमा प्रवेश गरेको बताए । दुई पक्षबीच रातारात सहमति भएको भनी चलाइएको हल्ला निरर्थक र भ्रमपूर्ण रहेको भन्दै प्रधानमन्त्री ओलीले आज सहमतिको दिनसम्म आइपुग्न आफूहरू वर्षौंदेखि लागिपरेको खुलासा गरे ।

नेपाललाई शान्तिका साथ अग्रगमनको दिशामा लैजान साहसपूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्रीले नेकपाका महासचिव विप्लवको प्रशंसा गरे ।

नेपाली जनताको मूल चाहना राष्ट्रियता, अखण्डता र स्वाधीनताको रक्षा गर्नु, लोकतन्त्रको सही प्रयोगका साथै भ्रष्टाचारको अन्त्य गरी शान्तिपूर्ण समाज स्थापना गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई साकार पार्नु रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस उद्देश्य पूर्तिका लागि आजको दिन ऐतिहासिक भएको उद्घोष गरे ।

अब नेपालमा कसैले पनि हिंसाको बाटो नअपनाएको र हिंसात्मक द्वन्द्वको अन्त्य भएको प्रधानमन्त्रीको भनाइ थियो । यस महत्वपूर्ण घडीसम्म आइपुग्नका लागि नेकपाका महासचिव विप्लवको ठूलो योगदान रहेको भन्दै प्रधानमन्त्री ओलीले विप्लवलाई बधाई दिए ।

यसैगरी, नेकपाका महासचिव विप्लवले नेपाली राजनीतिक आन्दोलनको लागि आजको दिन एक नयाँ र विशेष दिन भएको बताए ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले वार्ताको निम्ति भूमिका निर्वाह गर्ने सबैपक्षलाई धन्यवाद दिए र भने– ‘आज भएको सहमति कुनै दलविशेष, केही नेताविशेषको मात्र सरोकारको विषय नभइ यसभित्र नेपाललाई स्वाभीमानी, आत्मनिर्भर, शान्त, स्थिर र समृद्ध मुलुक बनाउने अभीष्टले बास गरेको छ ।’

नेपालको कम्युनिष्ट आन्दोलनमा ‘घुम्दैफिर्दै रुम्जाटार पुगेर घोडा चढ्ने प्रवृत्ति देखिएको’ भन्दै विप्लवले उत्पीडित र उत्पीडकको अन्त्य भएपछि मुलुकमा युद्धलाई स्थान नरहने बताए ।

हस्ताक्षर समारोहमा नेकपातर्फका वार्ताटोली सदस्य दीपक चलाउनेले स्वागत मन्तव्य दिँदै अग्रगमन, शान्ति र स्थिरताका लागि आजको दिन ऐतिहासिक दिन भएको भन्दै नेपाल सरकारको पहलकदमीका लागि धन्यवाद दिए भने कार्यक्रमका उद्घोषक रहेका डा. राजन भट्टराईले सहमतिका तीन बुँदा पढेर सुनाएका थिए ।