नारायणगढ-मुग्लिन सडक एक हप्ता बन्द हुने

नारायणगढ-मुग्लिन सडक एक हप्ता बन्द हुने



अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने

पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ-मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ ।

फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको जानकारी दिँदै नारायणगढ-मुग्लिन सडक आयोजनाले सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको स्पष्ट पारेको छ ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिए । अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने उनको भनाइ छ ।

यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने र सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।

सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।