प्रचण्ड समूहको भ्रममा नपर्न नेकपा मुख्य सचेतकको ध्यानाकर्षण

प्रचण्ड समूहको भ्रममा नपर्न नेकपा मुख्य सचेतकको ध्यानाकर्षण



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक विशाल भट्टराईले नेकपा प्रचण्ड समूहका अध्यक्ष प्रचण्डले शुक्रबार (फागुन २१) गते सङ्घीय संसद् सचिवालयलाई पठाएको पत्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीको संसदीय दलको नेतामा प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको स्पष्ट गरेका छन् ।

नेकपाको विधान २०७५ अनुसार संसदीय दलको नेता चयन भएका अध्यक्ष ओली, उपनेता सुवाचन्द्र नेम्वाङ, मुख्य सचेतक भट्टराई र सचेतक शान्ता चौधरी नै रहेको तथा उल्लिखित व्यक्तिहरुबाट पार्टीको प्रतिनिधित्व, आवश्यक निर्णय हुँदै आएको र भविष्यमा पनि सोहीअनुरुप हुने स्पष्ट गर्दै मुख्य सचेतक भट्टराईले संसद् सचिवालयलगायत सबैमा द्विविधामा नपर्न ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गरी मुख्य सचेतक भट्टराईले निर्वाचन आयोगको गत माघ ११ गतेको निर्णयअनुसार पार्टीको बैठकको मान्यता प्राप्त हुन अध्यक्षको परामर्शमा महासचिवले बैठक आह्वान गरेको हुनुपर्ने र पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने व्यवस्था भएको स्मरण गराउँदै आयोगको निर्णयविपरीत गरिएका पत्राचारले मान्यता नपाउने वास्तविकतातर्फ सम्बद्ध सबैको ध्यानाकर्षण गराएका छन् ।