दक्षिण अमेरिकी मुलुक पेरूमा हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले आफूहरूलाई तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार नियोजन गर्न बाध्य बनाएको भनी परेको मुद्दाको शनिबार अदालती प्रक्रिया सुरू भएको छ ।
अन्यायमा परेको बताउँदै न्यायका लागि बीस वर्षदेखि आवाज उठाउँदै आएका ती गरिब आदिवासी समुदायका महिलाले लामो समयपछि अदालतमा सुनुवाई सुरू भएपछि न्याय पाउने आशा पलाएको बताएका हुन् ।
पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजीमोरीले २० वर्षपहिले गरेको निर्णयका कारण आफूहरू बाँझोपनको शिकार बन्नु परेको दाबी गर्दै निर्णयकोे विरुद्धमा गरिएको कार्यक्रमका सहभागी महिलाहरूले लामो पर्खाइपछि न्याय पाउने बताएका हुन् ।
कार्यक्रमका सहभागी तथा एक पीडित ग्लोरिया बासिलियो होयमानलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार उनीहरू न्यायको लागि २० वर्षभन्दा बढी पर्खाइमा रहे । अब उनीहरूले हामीलाई पहिचान गरून् र बलपूर्वक परिवार नियोजनका लागि गरेको कार्यका लागि सबै महिलासँग माफी मागुन् भन्ने होयमानको भनाइ छ ।
‘फूजिमोरीको कार्यकालको अन्त्यतिर भएको निर्देशनबमोजिम म २७ वर्षको हुँदा परिवार नियोजन कार्यक्रमअन्तर्गत मेरो र मजस्ता हजारौं महिलाहरूलाई झुक्याएर प्रजनन् नलीलाई बाँधेर निःसन्तान पार्ने काम भएको थियो । यो कार्यक्रम स्वेच्छिक हुनुपर्थ्यो, तर हजारौँ महिलालाई तर्साएर दबाबमा पारेर बन्ध्याकरण गराइएको थियो’– पीडित ग्लोरियाले भनेकी छन् ।

पेरूको एक अदालतले सन् १९९० देखि सन् २००० सम्म पेरूको राष्ट्रपति रहेका ८२ वर्षीय फुजिमोरीलाई विपक्षी बनाएर परेको मुद्दामाथि गत सोमबारदेखि सुनुवाई चलाएको छ । जबर्जस्ती भनिएको प्राय आदिवासी सहभागी उक्त बन्ध्याकरण कार्यक्रममा दुई लाख ७० हजार महिलालाई सामेल गराइएको थियो ।
पेरुमा महिलाको अधिकारलाई सहयोग गर्ने गैर–सरकारी संस्थाले सहयोग गरेको न्यायका लागि गरिएको अभियानमा करिब दुई हजार महिलाहरू जोडिइसकेका छन् । अभियानका कारण अहिले मुद्दा अदालतमा सुनुवाईको प्रक्रियामा पुगेकोे छ ।
सरकारी तथ्याङ्क अनुसार उक्त बन्ध्याकरण शल्यक्रियाका कारण १८ महिलाले ज्यानसमेत गुमाएका थिए । फुजीमोरी र उनका तीन पूर्व स्वास्थ्यमन्त्रीहरूसहित सहयोगी प्रतिवादीहरूले जनताको जीवन र प्रजनन स्वास्थ्यसँग खेलवाड गरेको र यसबाट त्यो समूहमा परेको क्षतिको कुनै ख्याल नगरेको अभियोजक पाब्लो एस्पिनोजाले बताएका छन् ।
पीडितहरूले सन् २०० देखि न्यायको लागि अवाज उठाइरहेका थिए । यसै अभियानलाई सहयोग गर्दै अदालतमा मुद्दा हाल्ने एस्पिनजो पहिलो वकील थिए । फुजीमोरी र उनका सहयोगी प्रतिवादीहरुलाई ‘जीवन र स्वास्थ्यमा क्षति पुऱ्याउने अप्रत्यक्ष अपराध, गम्भीर चोटपटक र गम्भीर मानव अधिकार उल्लंघन’को आरोप लगाइएको छ ।
बन्ध्याकरण गरेका केही महिलाहरुलाई परम्परागत माचो संस्कृति भएको देशमा उनीहरूका साझेदारहरूले उनीहरूलाई भिन्न (घृणा) को दृष्टिले हेर्ने गरेका छन् ।
‘यदि उनीहरू नसबन्दी गर्न चाहन्छन् भने उनीहरूले हामीलाई सोध्नुपर्ने थियो, हामीलाई कुरा बुझाइदिनुपर्ने थियो र हरेक व्यक्तिले उसको निर्णय लिनुपर्थ्यो । फुजीमोरीले हामीसामु सार्वजनिक रूपमा माफी माग्नुपर्छ’– एक पीडित सान्चेजको जिकिर छ ।
पूर्व राष्ट्रपति फुजिमोरीले अहिले मानवताविरुद्धको अपराधको लागि २५ वर्षको जेल सजाय काटिरहेका छन् तर उनले कहिल्यै उक्त बन्ध्याकरण अभियानको लागि माफी मागेनन् ।
प्रतिक्रिया