चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको हो ।
केन्द्रका प्रमुख मनिष विष्टका अनुसार प्रयोग भइराखेको उपकरण परिवर्तन गराउन द्रुत रूपमा काम अगाडि बढिरहेको र चार–पाँच दिनभित्र जडान सम्पन्न गरी पुनः यथावत रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
विसं २०६० भदौ ८ गतेबाट उत्पादन शुरू भएको २२ मेगावाट उत्पादन क्षमताको विद्युत्गृहमा जडित उपकरण निकै पुरानो भएकाले बीचबीचमा पर्न सक्ने असरलाई मध्यनजर राखी उत्पादनकार्य निरन्तर सहज पार्न पुराना हटाई नयाँ उपकरण जडान गर्न थालिएको केन्द्र प्रमुख विष्टले जानकारी दिए ।
छिटोभन्दा छिटो उपकरण जडान कार्य सम्पन्न गराउन कार्यरत प्राविधिक अहोरात्र खटिरहेका छन् । रु दुई अर्ब ६४ करोडको लागतमा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाको दुई हजार ८२६ मिटर हेडरेस सुरूङ रहेको बताइन्छ ।
प्रतिक्रिया