सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्न सक्ने

सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्न सक्ने



‘हेडवर्क्स’ निर्माण अन्तिम चरणमा

मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवर्क्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

हेडवर्क्स निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड-१९ का कारण गत आर्थिक वर्ष काममा बाधा पुगेको भन्दै सरकारले छ महिना अवधि थप गरेको थियो । थपिएको अवधि बाँकी हुँदैमा ‘हेडवर्क्स’को निर्माण सकिएर सञ्चालनमा आउने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार विदेशबाट ‘हाइड्रो मेकानिकल’ सामग्री आउन बाँकी छ । उहाँले भन्नुभयो, ‘बाहिरबाट आउनुपर्ने सामान आएपछि जोडेर सञ्चालन गरिनेछ ।’

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडवर्क्स’ निर्माण गरेको हो । आयोजनाअन्तर्गत सुरुङ, हेडवर्क्स र सुन्दरीजलमा दुई वटा पानी प्रशोधन केन्द्रको निर्माण भएको छ ।

सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएकाले सुरुङबाट पानी काठमाडौँ ल्याइएको छ । तत्कालका लागि ‘हेडवर्क्स’ सम्पन्न नभएकाले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको प्रवक्ता पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अबको केही महिनामा नै हेडवर्क्स सम्पन्न भएर त्यसबाट पानी पथान्तरण गर्न सकिनेछ ।’

यही फागुन १० गते अम्बाथानबाट पानी सुरुङभित्र पठाइएकामा शनिबार सुन्दरीजल आइपुगेको छ । अबको केही दिनसम्म सुरुङ परीक्षण गर्ने आयोजनाले जनाएको छ । सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताउनुभयो । सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उहाँको भनाइ छ । सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘ठूलो चुहावट नभएमा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ ।’

rss