विप्लवले जेलमा दाजु भेटे, दाजुले सुनाए कोरोनाका कुरा !

विप्लवले जेलमा दाजु भेटे, दाजुले सुनाए कोरोनाका कुरा !


हालै प्रतिबन्ध फुकुवा भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चितवनस्थित भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गरेका छन् । कारागार कार्यालय चितवनमा रहेका ६० वर्षीय दाजु चन्द्रबहादुर चन्द ‘वीरजङ’लाई उनले आइतबार भेट गरेका हुन् ।

कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउपछि चन्द कारागारमा छन् । नवलपरासीको सुस्ता पश्चिमबाट पक्राउ परेका उनलाई उपचार गर्नुपर्ने भएपछि चितवन ल्याइएको बताइन्छ ।

दाजुभाइको भेटमा सँगै रहेका जेलर काफ्लेले चन्द्रबहादुर चन्दलाई विकसित घटनाक्रम र सहमतिका विषयमा जानकारी गराएका थिए ।

सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उनले जानकारी गराए ।

झण्डै आधा घण्टाको भेटमा महासचिव विप्लवले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी लिएका काफ्लेलाई उद्धृत गर्दै राससले जनाएको छ । बताइएअनुसार चन्द्रबहादुर चन्दले भाइ विप्लवलाई आफूलाई भएको कोरोना सङ्क्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराएका थिए ।

नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा सहमति भएसँगै सो पार्टीका कारागारमा रहेका बन्दीहरू छुट्ने भएका छन् । भूमिगत रहेका नेता कार्यकर्ता भने गत शुक्रबारबाट सार्वजनिक भएका छन् ।