पत्रकार महासंघ यूके र हेल्प नेपालद्वारा सहयोगका लागि अपील

पत्रकार महासंघ यूके र हेल्प नेपालद्वारा सहयोगका लागि अपील


landslideलण्डन / हेल्प नेपाल नेटवर्क यूके र नेपाल पत्रकार महासंघ यूकेद्वारा हाल नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरो पीडितहरुकालागि मानवीय सहायता गर्न अपील गरेका छन्। अगष्ट महिनाको शुरुमा सिन्धुपाल्चोक जिल्लाको जुरेमा आएको पहिरोबाट परेको घाउ कम नहुँदै मध्य, सुदूर पश्चिम लगायत देशका विभिन्न भेगमा बाढीले जनधनको ठूलो क्षति गरेको छ। यस्तो अवसरमा प्राकृतिक प्रकोप पीडितहरुका लागि मन खोलेर सहयोग गर्न दुबै संस्थाले बेलायत, युरोप, अमेरिका लगायतका मुलुकहरुमा बसीरहेका नेपालीहरुलाई हार्दिक अपील गरेका छन्। “नेपालमा शिक्षा, स्वास्थ्य लगायत आपत्कालिन स्थितिमा हेल्पनेपाल नेटवर्कले सघाउँदै आएको छ,” हेल्पनेपाल नेटवर्क यूकेका कोषाध्यक्ष सचिन श्रेष्ठले भने। “हालै बाढी तथा पहिरो पीडितहरुकालागि सक्दो सहयोग उपलब्ध गराउने उद्देश्यले हामीले यो सहयोग संकलन अभियान थालेका हौं।“

“नेपाल पत्रकार महासंघ युकेले आफ्नो स्थापनाको छोटो समयमै कल्याणकारी कामहरु गरिरहेको छ। हाल नेपालमा प्राकृतिक प्रकोप पीडितहरुलाई सघाउन हामीले हेल्पनेपाल नेटवर्क र अन्य मन मिल्ने संस्थाहरुसंग हातेमालो गर्ने निर्णय गरेका छौं,” नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्माले भने। सहयोग दिन इच्छुक महानुभावहरुले https://www.justgiving.com/landslideFarwestNepal

उक्त अभियानमा नेप्लीज ब्लड डोनर्स युके लगायतका संघसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका छन्। बेलायतका लागि नेपालका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपालमा बाढी पीडितहरुलाई सघाउन हेल्प नेपाल नेटवर्क युके तथा नेपाल पत्रकार महासंघ यूकेद्वारा चालिएको अभियानको प्रशंसा गर्नुभयो। उहाँले बाढी पहिरो पीडितहरुलाई सघाउन थालिएको अत्यन्त मानवीय काममा सहकार्य गर्न बेलायतस्थित नेपालीहरुका सबै संघसंस्था र महानुभावहरुलाई हार्दिक अनुरोध पनि गर्नुभयो।
हालै हेल्प नेपाल नेटवर्कले सिन्धुपाल्चोकमा पहिरोले क्षतिग्रस्त गराएको बन साँघु माध्यमिक विद्यालयलाई सुरक्षित स्थलमा पुनर्निर्माणका लागि रु एघार लाख उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै तराईका विभिन्न जिल्लामा आगलागी तथा बाढी पीडित परिवारहरुलाई पनि मानवीय सहयोग उपलब्ध गराउँदै आएको छ। दाताहरुले उपलब्ध गराएको सम्पूर्ण रकम पीडित परिवारहरुसम्म पुराइने र एक पैसा पनि प्रशासनिक तथा अन्य काममा खर्च नगरिने ती संस्थाहरुले जनाएका छन्।