फैसलाबारे छलफल गर्न प्रचण्ड समूहको स्थायी कमिटी बैठक बस्दै

फैसलाबारे छलफल गर्न प्रचण्ड समूहको स्थायी कमिटी बैठक बस्दै


फैसला अस्वाभाविक र राजनीतिक आग्रहप्रेरित भन्दै प्रवक्ताद्वारा असन्तुष्टि !

नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको आइतबारको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज (२४ फागुन) ११ बजे बस्नेछ ।

सर्वोच्च आदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो ।

प्रचण्ड समूहले फैसलापछिको अवस्थाबारे आइतबार साँझ नै कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा प्रचण्ड र माधवकुमार नेपाललगायतको सहभागिता थियो ।

ज्ञातव्य छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम आधिकारिक रूपमा ऋषि कट्टेलको पोल्टामा गएपछि तत्कालिक नेकपा एमाले र नेकपा माओवादी केन्द्र साबिक अवस्थामा पुगेका छन् । अदालतको फैसलाले खासगरी प्रचण्ड समूहलाई गम्भीर धक्का पुगेको अनुभूति गरिएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘फैसला अस्वाभाविक, संविधान एवम् कानुनको बर्खिलाप, राजनीतिक आग्रहप्रेरित र गलत’ भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् ।