कपिलवस्तुबाट विप्लवको प्रश्न- ‘मन्त्री त हामी पनि हुन सक्थ्यौँ, आज प्रचण्डजी कहाँ पुग्नुभयो ?’

कपिलवस्तुबाट विप्लवको प्रश्न- ‘मन्त्री त हामी पनि हुन सक्थ्यौँ, आज प्रचण्डजी कहाँ पुग्नुभयो ?’



सनिउल्ला धोबी, कपिलवस्तु

हालै सरकारद्वारा प्रतिबन्ध फुकाइएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विगतमा सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउनु गलत रहेको बताएका छन् । न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको उनले जिकिर गरे ।

कपिलवस्तुको शिवगढीमा सोमबार पार्टीनिकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले समाजको अन्याय, अत्याचार र दमनका विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध र दमन सही नभएको तर्क गरे र प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रचण्डको पनि आलोचना गरे ।

उनले भने, ‘बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ तर न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ती गरेका छैनौँ ।’

महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने भन्दै विप्लवले न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएको दाबी गरे ।

‘गाउँगाउँमा भ्रष्टाचार गर्ने, बलात्कार गर्नेहरुलाई कारवाही गर्नु गल्ती हो ? भन्ने प्रश्न राख्दै विप्लवले भने, ‘लडाइँ भयो भने क्षति हुन्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । तर, दास भएर मर्नुभन्दा लडेर मर्नु धेरै ठुलो कुरा हो ।’ अन्यायका विरुद्ध प्रतिवाद गर्न आफू पछि नपर्ने संकेत महासचिव विप्लवले दिए ।

प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको टिप्पणी गर्न विप्लव चुकेनन् । ‘आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए । मन्त्री त हामी पनि हुन सक्थ्यौँ नि’, विप्लवको धथन थियो ।

सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौं भने पनि त्यो सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको तर्क उनले गरे ।

सो अवसरमा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जेलमा बसेको अनुभव सुनाउँदै देशमा बेरोजगारीको समस्याले अधिकांश युवाहरु लागुपदार्थ दुर्व्यसनको मुद्दामा जेलमा रहेको बताए ।

सरकारसँग तीन बुँदे सहमति भएको स्मरण गराउँदै उनले सरकारसँग सहमति भयो भन्दैमा आन्दोलन नसकिएको र आवश्यक परे देश र जनताको लागि बलिदान दिन तयार रहेको बताए । देश समृद्ध बनाउने आधारहरु आफूआवद्ध नेकपासँग रहेको उनको दाबी थियो ।