सिरियाका राष्ट्रपति दम्पती कोरोना भाइरसबाट सङ्क्रमित

सिरियाका राष्ट्रपति दम्पती कोरोना भाइरसबाट सङ्क्रमित



सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोनाबाट सङ्क्रमितहरूलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा असद दम्पतीमा भाइरसको सङ्क्रमण रहेको पुष्टि भएको हो ।

राष्ट्रपति दम्पती कोरोना भाइरसबाट सङ्क्रमित भएको सोमबार सरकारी अधिकारीहरूले पनि पुष्टि गरेका सिन्ह्वाले जनाएको छ ।

‘सम्भावित केही लक्षणहरू देखिएपछि राष्ट्रपति अल असद र उहाँकी श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उहाँहरूमा त्यो भाइरस रहेको देखियो,’ सिरियाको राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

दुवैको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

सिरियामा कोरोना भाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन् भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ ।