बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कैदीलाई जेलमुक्त गर्ने निर्णय गरेको छ ।
कैदीहरूको सजाय माफीका लागि राष्ट्रपतिले दिएको निर्देशन बमोजिम कम्तीमा पाँच हजार २२५ कैदीलाई जेलमुक्त गर्न लागिएको त्यहाँका राष्ट्रपतिको निर्देशन पत्रमा उल्लेख रहेको एएफपीले जनाएको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘क्रिश्चियन्स फर एबोलिसन फर टर्चर’को बुरुन्डियाली शाखाको अनुमानअनुसार बुरूण्डीमा १३ हजार २०० कैदीहरू रहेका छन् र राष्ट्रपतिको आममाफीको निर्देशनबाट यसको ४० प्रतिशत कैदी प्रक्रिया पु¥याएर जेलमुक्त हुनेछन् ।
पूर्वी अफ्रिकी यस मुलुकमा जेलहरूको क्षमता चारहजार १०० कैदी राख्न मिल्ने रहेको छ । प्रस्तावित निर्देशनमा राष्ट्रपति इभारिस्त एनडेसिमियाले भनेका छन्– ‘सरकारले कैदलाई भीडभाडमुक्त गराउनका लागि ल्याएको प्रस्तावप्रति राष्ट्रपतिका रूपमा आफू सहमत बनेको र यस्ता किसिमका विशेष उपायले जेलमा अत्यधिक भीड हुने अवस्थालाई हल गर्नेछ ।’
राष्ट्रपतिको निर्देशनमार्फत् कैद मिनाहा गर्न लागिएका कैदीहरूमा सशस्त्र समूहमा सहभागी भई जेल परेका र देशको सुरक्षामा खतरा नरहेका कैँदीबन्दी, जसले पाँच वर्षभन्दा बढी कैद बिताइसकेका छन्, समेत रहेका छन् ।
आममाफीमार्फत् कैद मिनाहको निर्णय बुरूण्डीका जेलहरूको भीडलाई नियन्त्रण गर्न उपयुक्त निर्णय भएको भन्दै कतिपयले सो कदमको स्वागत गरेका छन् ।
गत वर्ष पियरे एनकुरिन्जजाको उत्तराधिकारीका रूपमा आएका राष्ट्रपतिको निर्णयलाई त्यहाँको प्रतिपक्षी दलले पनि स्वागत गरेको सरकारी दाबी छ ।
प्रतिक्रिया