- विकास रौनियार, धादिङ
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० तिङग्राखानीस्थित पृथ्वीराजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
रुपन्देहीबाट सिमेन्ट लोड गरी काठमाडौंतर्फ आइरहेको लु १ ख ७७६२ नम्बरको ट्रक गएराति करिव एक बजे दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
मृत्यु हुनेमा ट्रकका चालक काभ्रे बनेपा नगरपालिका नालाका विष्णु घिमिरे र सहचालक सुमन सञ्जेलको ट्रकको क्याबिनमा थिचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय गजुरी, प्रहरीचौकी जोगिमारा र सशस्त्र प्रहरीले तीन घण्टाको प्रयासपछि शव निकालेको निरीक्षक पाण्डेको भनाइ छ ।
दुर्घटनामा परेको ट्रक पृथ्वीराजमार्गबाट ३० मिटर तल त्रिशुली नदीको किनारमा खसेको थियो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया