ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५३ पुगेको छ भने इलाम नगरपालिका वडा नं. १, नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका वडा नं. २, बन्दीपुर, रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. १, थुमन, तनहूँको भानु नगरपालिका वडा नं. ११, टुहुरेपसल, कैलालीको जानकी गाउँपालिका वडा नं. ७, मिलनचोक, लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. १०, कोइरालाफाँट, बाँकेको खजुरा गाँउपालिका वडा नं. ६, सिमलघारी र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएका छन् ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया