देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड

देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच मंगलबार समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा साँझ भएको भेटमा दुई नेताबीच संसद्को बैठक सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको बताइएको छ ।

माओवादी केन्द्रको मंगलबारको स्थायी कमिटी बैठकले ती विषयमा प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले गत आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नामका बारेमा परेको रिट निवेदनको सुनुवाइ गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा पूर्वावस्थामा ब्यूँतिने फैसला गरेको थियो । सोही फैसलाका आधारमा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहने निर्णय गरिसकेको छ ।

यसरी अप्रत्यासित रूपमा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ भने प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्ने अभीष्टबाट प्रेरित प्रचण्डले विभिन्न दलका नेतृत्वसँग भेट गर्ने रणनीति बनाएका छन् ।