पद त्याग गर्न मानसिक रूपले तयार

पद त्याग गर्न मानसिक रूपले तयार


प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमाले पुनर्जीवित भएपछि अत्यन्त प्रशन्न हुनुभएको जानकारी प्राप्त भएको छ ।

सर्वोच्च अदालतबाट ऋषि कट्टेलको नेकपालाई आधिकारिकता प्रदान गर्ने निर्णय भएको र, अब एमाले र माओवादी एकीकरणपूर्वको अवस्थामा पुगेको समाचार सुन्ने बित्तिकै ओली प्रशन्न बन्नुभएको बताइन्छ । आफ्ना निकटवर्तीहरूलाई उहाँले भन्नुभएको छ- ‘अब एमाले जोगिएको छ, हामी द्रुत गतिका साथ सङ्गठन निर्माण र बिस्तारमा लाग्नुपर्छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छ, फिर्ता लिएको महिना दिनभित्रै हामी विश्वासको मत हासिल गर्न संसदमा जानेछौँ । कदाचित विश्वासको मत लिन सकिएन भने म तत्काल पदबाट राजीनामा दिनेछु । त्यसपछि प्रमुख प्रतिपक्षी भूमिकामा हाम्रो मैदान खाली हुनेछ ।’

यसरी प्रधानमन्त्रीले अदालतको फैसला सार्वजनिक भएलगत्तै पदत्याग गर्न आफू मानसिक रूपले तयार रहेको सन्देश निकटस्थहरूलाई दिनुभएको छ । उता एमाले र माओवादीका एकथरी मानिस भने अहिले पनि दुई दलबीचको सत्ता गठबन्धन बनाउने र निर्वाचनसम्म ‘एकतावद्ध’ भएर चुनावी मैदानमा सहभागी हुने उद्देश्यका निम्ति क्रियाशील भइरहेका छन् ।

दुई वामपन्थी कम्युनिष्ट पार्टीहरूबीचको सहकार्य जोगाउँदै निर्वाचनसम्म एकतावद्ध ढङ्गले जान सकेमा आगामी संसदीय निर्वाचनको परिणाम पनि कम्युनिष्टकै पक्षमा आउने विश्लेषण र विश्वास उनीहरूको छ ।