इजरायली प्रधानमन्त्रीले पहिलो पटक यूएईको औपचारिक भ्रमण गर्ने

इजरायली प्रधानमन्त्रीले पहिलो पटक यूएईको औपचारिक भ्रमण गर्ने


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई)को औपचारिक भ्रमण गर्ने भएका छन् ।

दुई देशका बीचमा आपसी सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमति भएकाले बिहीबार उनले यूएईको भ्रमण गर्न लागेका हुन् ।

नेतान्याहुका एक जना उच्च सरकारी अधिकारीले उनको भ्रमण निश्चित भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उनले यसअघि नै यूएईसँगै बहराइनको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि इजरायलमा लकडाउन कायमै रहेको र विमान सेवासमेत बन्द भएकाले उहाँले त्यतिबेलाको भ्रमण स्थगित गरेका थिए ।

‘यूएईका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकार गर्दै भ्रमणमा जान लागेका हुन्, भ्रमण दुई देशबीचको सम्बन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि गरिएको छ,’ नेतान्याहुको कार्यालयका एक उच्च अधिकारीले भनेका छन् ।

सन् २००९ देखि लगातार इजरायली राजनीतिको केन्द्रमा रहनु भएका नेतान्याहुको भ्रमणलाई विश्वभरीबाट महत्व र चासोका साथ हेरिएको छ ।

भ्रमणका क्रममा उनले यूएईका नेता शेख मोहम्मद बिन जायद अल नाह्यानलाई अबुधाबी विमानस्थलमा भेट्ने छन् ।

उनले जेरुसेलममा फर्केपछि हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बतइएको छ ।