ब्रसेल विमानस्थलमा नेपालीमाथि केरकार
सनत आचार्य, बेल्जियम
पछिल्लो चरणमा बेल्जियमको ब्रसेल्स अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक रकम ओसारपसारमा कडाइ गरिएको छ भने शंकास्पद व्यक्तिहरूमाथि केरकार गर्न थालिएको छ ।
बन्दाबन्दीका कारण अधिकांश मानिस बेरोजगार रहेको र सरकारले सीमित मात्रामा बेरोजगार भत्ता दिएको अवस्थामा यात्रुहरूले देशबाहिर नगद रकम लैजान खोज्दा कडाइ गरिएको हो ।
बुधबार मात्र ब्रसेल्स विमानस्थल सुरक्षाकर्मीहरूले दर्जन भन्दा बढी यात्रुलाई नियन्त्रणमा लिइ यात्रुले बोकेको नगदबारे केरकार गरिएको छ । केरकारका क्रममा केही यात्रुलाई थप कर तिर्न लगाएको बुझिएको छ । यसरी सोधपुछ गरिनेमा केही नेपाली नागरिक पनि परेका छन् ।
नाम खुलासा गर्न नचाहने एक नेपाली यात्रु भन्छन्– ‘मलाई पनि केहीबेर सुरक्षाकर्मीले नियन्त्रणमा लिए र पैसाको बारेमा सोधपुछ गरे । मैले आम्दानीको स्रोतका बारेमा स्पष्ट बताएपछि छोडिदिए ।’ उनी भन्छन्- ‘अरु धेरै मानिसहरूलाई पनि सोधपुछ गरिएको थियो ।’
बेल्जियम सरकारको नियमअनुसार यदि कुनै यात्रुले १० हजार नगद युरोसहित बेल्जियम छाड्न लागेमा भन्सार कार्यालयमा जानकारी दिनु पर्दछ । यसरी जानकारी दिँदा भन्सारले सम्बन्धित व्यक्तिसँग रकमका बारेमा सोधपुछ गर्न सक्छ ।
त्यस्तै, १० हजार वा सो भन्दा बढी नगद युरो ओसारपसार गर्दा स्वघोषणा आवश्यक पर्दछ । सरकारको नियमअनुसार स्वघोषणा नगरी जल, थल वा हवाई मार्गबाट यसरी सीमाभन्दा बढी नगद ओसारपसार गरेको पाइएमा मनी लाउण्ड्रिङ, आर्थिक आतंकवाद वा आर्थिक अपराध शीर्षकमा मुद्धा चल्न सक्छ ।
त्यस्तै, स्वघोषणा नगरेमा भन्सार उल्लंघनमा कारवाही हुने र जरिवाना तिर्नुपर्ने हुन्छ ।
यसका साथै भन्सार कार्यालयले सार्वजनिक अभियोजनमा मुद्धा लगाई नगद अपचलनसम्बन्धी मुद्धाको अनुसन्धान पनि गर्न सक्दछ ।
प्रतिक्रिया