चिकित्सकले चिकित्सकमाथि नै लगाए गुण्डागर्दीको आरोप !

चिकित्सकले चिकित्सकमाथि नै लगाए गुण्डागर्दीको आरोप !


सुरक्षाको माग गर्दै सडकमा

  • हेमशंकर सिंह, सप्तरी

बिरामीको उपचारमा तल्लिन रहनुपर्नेे चिकित्सकहरूबीच देखापरेको आरोप-प्रत्यारोप र गालीगलौजको अवस्थाले स्वास्थ्य सेवा नै प्रभावित हुन पुगेको छ ।

राजविराजस्थित नेपाल सरकारको स्वामित्वमा रहेको गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पतालका चिकित्सकहरूबीच आरोप-प्रत्यारोपको क्रम शुरु भएको हो ।

सरकारी अस्पतालमा ड्युटी पूरा गर्नुको साटो निजी अस्पताल र क्लिनिकमा समय दिने गरेको कारण चिकित्सकहरूसँग स्पष्टिकरण मागको विषयलाई लिएर दुवै अस्पतालका चिकित्सकहरू गालीगलौज र आक्रमणमा उत्रन थालेका छन् ।

छिन्नमस्ता अस्पताल सरकारी अस्पतालको छेउमै रहेको छ । गजेन्द्र नारायण सिंह सरकारी अस्पतालमा कार्यरत केही चिकित्सकले ‘सेटिङ’ गरी छिन्नमस्ता अस्पतालमा बिरामी पठाउने गरेको आरोप अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टन्टेन डाक्टर रजित झाको रहेको छ । तर सरकारी अस्पतालमा कार्यरत दिनेश उप्रेती, डाक्टर राजिव मिश्रा, डाक्टर अजय चौधरीसहितका चिकित्सकहरू भने अस्पतालभित्र आफूहरूले प्रदान गरिरहेको सेवाका कारण डाक्टर झाको निजी क्लिनिकमा बिरामी घट्न थालेपछि आफूहरूविरुद्ध डा. झाले षडयन्त्र शुरु गरेको आरोप लगाएका छन् ।

छिन्नमस्ता अस्पतालमा समेत कार्यरत रहेका डाक्टर ज्ञानेन्द्र झाको बिहेको वार्षिक उत्सवको भोज र सरकारी अस्पतालका सुपरिडेन्टेन्डेन्ट डाक्टर झाद्वारा संचालित निजी क्लिनीकको वर्षगाँठको छुटाछुट्टै आयोजना गरिएको भोजपछि दुवै पक्षको जम्काभेट हुँदा तनाव बढेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

बुधबार राति करिब ११ बजेतिर गजेन्द्र नारायण सिंह अस्पतालको चिकित्सक आवास क्षेत्र केही बेरका लागि रणयुद्धमा हुन परिणत हुन पुग्यो । सोही घटनालाई ढाकछोप गर्न बिहीबार राजविराजमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी दुवै पक्षले एकअर्कामाथि हिलो छयापेका छन् ।

एकातिर केही डाक्टरको नेतृत्व अस्पतालका प्रमुखले गरेका छन् भने अर्कोतिर छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सकहरूको नेतृत्व गजेन्द्र नारायण सिंह अस्पतालको इमरजेन्सीको प्रमुख समेत रहेका डाक्टर अजय चौधरीले गरेका छन् ।

प्रमु्ख डाक्टर झाले बिरामीकुरुवाकै अगाडि आफूहरूलाई अपमानित गरेर मनोबल घटाउने प्रयास गर्नुका साथै बिनाकारण पत्र काटेर स्पष्टिकरण माग गरेको विषयमा प्रमुखसँग गुनासो गरेको विषयलाई प्रमुख झाले ‘इस्यू’ बनाएको डाक्टर चौधरीले दाबी गरे ।

यसअघि पनि रातिको समयमा मदिरा सेवन गरेर प्रमुख झाले अस्पतालमा कार्यरत चिकित्सकहरूलाई गालिगलौज गर्ने गरेको र इमर्जेन्सीमा कार्यरत डाक्टर जीतेन्द्र यादवलाई कुटपिट गरेको आरोप समेत पत्रकार सम्मेलनमा उनले लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै डा. दिनेश उप्रेतीले अस्पतालमा भएको उपकरणहरूको प्रयोग गर्न प्रमुख झासँग आग्रह गरेपछि र आफूहरूले बिरामीलाई बढि समय दिएर स्वास्थ्य जाँच गर्ने गरेका कारण डाक्टर झा आफूहरू प्रति क्रुद्ध भएको आरोप लगाए ।

तर गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डाक्टर झाले छिन्नमस्ता अस्पतालका ‘गुन्डा’हरू सरकारी अस्पतालमा प्रवेश गरी आफ्नो ज्यान लिन खोजेको गम्भीर आरोप लगाए । अस्पताल भर्नापूर्जा काटकुट गरेको विषयबारे इमर्जेन्सी प्रमुख डाक्टर चौधरीसँग बुझ्न खोजेपछि उनी ड्युटी नै आउन छाडेका र स्पष्टिकरण सोधिएको विषयलाई लिएर आफूउपर आक्रमण गर्न खोजेको डाक्टर झाले पत्रकार सम्मेलनमा बताए ।

छिन्नमस्ता अस्पतालका कार्यरत चिकित्सक, कर्मचारी र औषधी पसलेसहित करिब २ सय गु्न्डा आफ्नो निवासमा आएर आक्रमण गर्दा आफू प्रहरीको सहयोगमा बाँच्न सफल भएको डाक्टर झाले दाबी गरे । अस्पतालको ड्युटी अवधिमा अन्य अस्पतालमा नबस्न निर्देशन दिएपछि छिन्नमस्ता अस्पतालमा समेत कार्यरत रहेका डाक्टर ज्ञानेन्द्र झासहितको सहयोगमा आफूउपर आक्रमण गर्न खोजिएको डा. झाको आरोप छ ।

छिन्नमस्ता अस्पतालमा बिरामीको चाप बढाउन सरकारी अस्पतालमा रहेको सिटी स्क्यान, अल्ट्रा साउण्डलागयतका मेसिनहरू बिगार्न खोजेको आरोप पनि उनले लगाए ।

यसैबीच चिकित्सकहरूको सुरक्षा र चिकित्सकउपर आक्रमण गर्ने गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डाक्टर झासहित घटनामा संलग्नहरूलाई पक्राउ गरी कार्वाहीको माग गर्दै इमर्जेन्सी प्रमुख डाक्टर चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन् ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले घटनाबारे दुवै पक्षले आ-आफ्नो पक्षमा दाबी गरे पनि घटनाको थप अनुसन्धान भइरहेकोे बताए ।