बेल्जियमबाट यात्रा गर्नेले मनन गर्नैपर्ने कुरा

बेल्जियमबाट यात्रा गर्नेले मनन गर्नैपर्ने कुरा


आवश्यक कागजपत्र नबनाउँदा विमानस्थलबाट फर्कनुपर्ने अवस्था

  • सनत आचार्य, बेल्जियम

कोभिडको महामारी केही खुकुलो भएसँगै युरोपलगायत विश्वका अधिकांश मुलुकसँग नेपालको हवाइ सेवा जोडिएपछि विमानस्थलहरूमा नेपाल यात्रा गर्ने यात्रुको भीडभाड बाक्लै देखिन थालेको छ । यस्तो भीडमध्ये युरोपको सानो र सुन्दर देश बेल्जियममा पनि देख्न पाइन्छ ।

बेल्जियममा सरकारले मध्य मार्चबाट होरेका (होटल तथा रेष्टुरेण्ट) व्यवसाय खोल्ने अपेक्षा गरिए पनि गत शुक्रबारको निर्णयमा होरेका आगामी मे १ तारिखदेखि सञ्चालनमा आउने समाचार सार्वजनिक गरेसँगै यस व्यवसायमा आबद्ध अधिकांश नेपालीहरू नेपाल फर्कन थालेका देखिएको छ ।

काठमाडौंस्थित रुपाकोट इन्टरनेशनल ट्राभल्स प्रा.लि.का सञ्चालक राजेन्द्र धमला पछिल्लो समयमा युरोपबाट नेपाल फर्कने नेपालीहरूको संख्या वृद्धि भएको र आफुले बेल्जियमबाट मात्रै सरदर १५ जनाको टिकट गर्ने गरेको बताउँछन् ।

प्रवासी नेपाली एकता मञ्च बेल्जियमका सचिव रमेश कँडेलले बेल्जियम सरकारले होरेका क्षेत्र अझै दुई महिनाका लागि आंशिक रुपमा खुल्ला गरेपछि दिग्दार भएका प्रवासी नेपालीहरू केही समयका लागि घर फर्कने क्रम बढेको बताउँछन् ।

कँडेल भन्छन्- ‘होरेका पूर्ण रूपले खुलेपछि तत्काल बिदा नपाउने सम्भावना भएको हुँदा खुल्नुपूर्व नै नेपाल जानेहरूको संख्यामा वृद्धि भएको छ ।’

नेपाल सरकारको पछिल्लो निर्णयअनुसार नेपाली मूलका विदेशी नागरिकलगायत सबैलाई सशर्त नेपाल प्रवेश खुल्ला गरिएको छ ।

नेपाल जाँदा अहिले विदेशीका लागि भिसा अनिवार्य गरिएको छ भने सबै यात्रुलाई सिसिएमसी फाराम, कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य छ भने सबैखाले यात्रुलाई ब्रसेल एअरपोर्टमा आफू किन नेपाल जान थालेको हो ? त्यसको बयानसहितको कागजहरू हुनैपर्ने बताइएको छ ।

नेपाल सरकारले हालै गरेको निर्णयअनुसार यात्रुले आँगन बिन्दुमा अनअराइभल भिषा वा विदेशस्थित कुटनैतिक नियोगबाट भिसा लिन सक्ने बताएको छ । यसरी भिसासहित आवश्यक कागजातहरू लिई जो-कोही यात्रु नेपाल प्रवेश गर्न सक्नेछन् ।

बेल्जियमस्थित नेपाली दुतावासका प्रथम सचिव भोजराज भुषालका अनुसार केही दिनयता नेपाली भिसाका लागि आउनेहरूको संख्यामा वृद्धि भएको र दुतावासले सहज र छिटो भिसा दिने व्यवस्था मिलाएको छ । दुतावासले प्रक्रिया पूरा गरेर आएका विदेशीलाई १५ मिनेटभित्र भिसा उपलब्ध गराउन सक्ने गरी काम गरिरहेको जानकारी उनले दिए ।

भिसा लगाउनुपूर्व अध्यागमन विभागको वेभसाइडमा गएर टुरिष्ट भिजाको अनलाइन फर्म भर्नु पर्दछ । यसरी अनलाइन फाराम प्रविष्ट गरेपछि ब्रसेलस्थित दुतावासले तत्काल भिसा उपलब्ध गराउँदछ । प्रवेशबिन्दुबाट अनअराइभल भिसा लिँदा पनि अनलाइन फाराम भरे छिटो हुन जान्छ, तर यो प्रक्रिया यात्रुका लागि अलिक झन्झटिलो भएको बताइन्छ ।

बेल्जियममा बसेका र कोभिडका कारण भिसा समाप्त भएकाहरूले स्टाड (स्थानीय निकाय)बाट यात्रा अनुमति पत्र लिन आवश्यक छ । यो नहुँदा बेल्जिक अध्यागमन र व्यक्ति स्वयमका लागि समस्या हुन सक्दछ । उनीहरूले पनि यात्राका लागि आवश्यक कागजात तयार गर्न आवश्यक छ ।

बेल्जियम सरकारको नियमअनुसार नेपालबाट आउने प्रत्येक नेपाली नागरिकले स्टाडमा आगमन दर्ता गर्न आवश्यक छ । आगमन दर्ताका लागि स्टाडलाई इमेलमार्फत पासपोर्टको अगाडिको पाना (नाम थर, ठेगाना, जारी मिति आदि लेखेको), भिसाको फोटोकपी र एक प्रति फोटो पठायो भने एकैदिनमा पुनः मेलबाट दर्ता भएको प्रमाण पत्र प्राप्त गर्न सकिन्छ । यो प्रमाणपत्र भयो भने हरदम पासपोर्ट बोक्नुपर्ने झन्झट रहँदैन, यही कागज बोके मात्र पुग्छ । यसरी स्टाडमा आफू दर्ता हुँदा आफुलाई भविष्यमा आइपर्ने कानुनी समस्याबाट बच्ने धेरै आधारहरू हुन्छन् । कोभिडका कारण स्टाडले अध्यागमनका प्रत्येक कामहरू ईमेलबाट गर्न सुझाएको छ ।

नेपाल यात्रा गर्दा चाहिने अर्को आवश्यक कागजातमध्ये कोभिड टेष्ट रिपोर्ट पनि एक हो । नेपाललगायत संसारभरका सरकारले कोभिड टेष्टको नेगेटिभ रिपोर्ट अनिवार्य गरेका छन् । त्यसैले नेपाल प्रवेशमा पिसिआर टेष्ट अनिवार्य गरिएको छ । यस्तो रिपोर्ट नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्रको हुनु पर्दछ ।

बेल्जियम सरकारले यात्रुका लागि ब्रसेल एअरपोर्टमै पिसिआर टेष्ट गर्ने व्यवस्था मिलाएको छ । यसका लागि पनि वेभसाइडमा गएर आवश्यक जानकारीसहितको अनलाइन फर्म भरी टेष्टका लागि समय लिनु पर्दछ ।

स्वाब परीक्षणपछि रिपोर्ट आउन ६ देखि ८ घण्टा लाग्छ तर ल्याबले भने २४ घण्टाभित्र भन्दछ । आफ्नो उडान मिति र समय हेरेर यो कार्य गर्नु पर्दछ । यदि यो पिसिआर नेगेटिभ रिपोर्ट भएन भने यात्रा गर्न सकिँदैन ।

त्यस्तै, नेपाल यात्रा गर्न आवश्यक पर्ने अर्को महत्वपूर्ण कागजात भनेको सिसिएमसिको फाराम हो । यो फाराममा यात्रा गर्ने व्यक्तिको उडान, परिवार, क्वारेन्टिन र स्वास्थसम्बन्धी विवरण मागेको छ । यो पनि सिसिएमसीको अनलाइन फर्ममा उपलब्ध छ । यो फाराम नेपाल जाँदा र आउँदा अनिवार्य रूपमा भर्नु पर्दछ ।

यसरी आवश्यक विवरण भरिसकेपछि यसको सबै पेज प्रिण्ट गरेर एक प्रति आफुसँगै राख्नु पर्दछ । यो ब्रसेल र नेपालको एअरपोर्टमा अनिवार्य तवरले देखाउनु पर्दछ । योबिना बोर्डिङ पास पाइन्न । यो फाराम ट्रान्जिटपछि जहाज चढ्ने बेला पनि आवश्यक छ ।

नेपाल यात्रा गर्ने क्रममा अर्को महत्वपूर्ण कागज भनेको कारणसहितको बयान पत्र (स्वर्न स्टेटमेण्ट) हो ।

पछिल्लो समयमा बेल्जियम सरकारले प्रत्येक बोर्डरमा आउँदा वा जाँदा अनिवार्य गरेको छ । यो कागजले किन बेल्जियम आउन लागेको वा बेल्जियमबाट किन जान लागेको हो भन्ने कुराको पुष्ट्याइँ गर्दछ ।

यसमा आउने र जाने विभिन्न कारणहरू लेखिएका छन् । ती कारणमध्ये एकलाई छनौट र प्रविष्ट गर्यो भने यो आफसेआफ मेलमा जान्छ । अनि यसलाई प्रिण्ट गरेर हस्ताक्षर गरी बोर्डिङ पास लिँदा देखाउनु पर्दछ । यसको जानकारी स्टाडमा जाने गर्दछ । तसर्थ पनि यो जरुरी मानिन्छ ।

बेल्जियम सरकारले पनि आफ्नो देशमा आउने प्रत्येक नागरिकलाई प्रबवशाज्ञा (भिसा) सहित माथि उल्लेखित कागजातहरू आवश्यक रहेको बताएको छ । बेल्जियम आउनेले यो बाहेक अर्को प्यासेन्जर लोकेटर फाराम अनिवार्य रूपमा भर्नु पर्दछ ।

यो फाराम गुगलमा गएर पब्लिक हेल्थ प्यासेन्जर फर्म फर बेल्जियमबाट खोज्न सकिन्छ । यसमा यात्रा र स्वास्थ्यसम्बन्धी जानकारीहरू राखिएको छ । माग गरेको विवरणअनुसार सुचनाहरू प्रविष्ट गर्दै गएपछि अन्तमा इमेलमार्फत क्युआर कोड आउँछ । यसलाई प्रिण्ट गरेर यात्रावधिभर आफुसँग राख्नु पर्दछ । कहिलेकाहीँ यो कागज अध्यागमनमा खोज्न सक्दछ ।

कतिपय यात्रुलाई नेपालमा क्वारेन्टिनको प्रक्रियाका बारेमा जिज्ञासा हुने गर्दछ । नेपाल सरकारको कानुनअनुसार प्रत्येक मानिस क्वारेन्टिनमा बस्नुपर्ने विषयलाई अनिवार्य गरिएको छ तर व्यवहारमा भने यो लागु गरिएको छैन । क्वारेन्टिनमा बसेकाहरूको प्रभावकारी अनुगमन गर्ने परिपाटी छैन । त्यसैले यो बाध्यकारी बनेन ।

मन्त्रिपरिषद्को गत माघ ११ को निर्णयअनुसार नेपाल यात्रा गर्ने प्रत्येक व्यक्तिलाई सरकारले तोकेको होटलमा आफ्नै खर्चमा ५ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने र ५ दिनपछि पिसिआर टेष्ट गर्दा नेगेटिभ आयो भने फेरि ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरिएको छ ।

जटिल स्वास्थ्य समस्या भए, आफन्तको मृत्यु भई आफै काजकिरियामा बस्नुपर्ने नेपाली नागरिक तथा नेपाली मूलका विदेशी नागरिक तथा तिनका सन्तानहरू भने सिसिएमसीले वैकल्पिक व्यवस्था गर्न सक्ने उल्लेख छ । सिसिएमसी नै खारेज भएको अवस्थामा अहिले क्वारेण्टाइनको यो नियम पालना गरेको अवस्था छैन ।

यस्तो छ नेपाल आगमन सहजीकरणसम्बन्धी अध्यागमन विभागको अद्यावधिक सूचना :