संसदीय दलको नेता चयनको तयारीमा जसपा, आजै कांग्रेस सभापतिसँग पनि भेट गर्ने

संसदीय दलको नेता चयनको तयारीमा जसपा, आजै कांग्रेस सभापतिसँग पनि भेट गर्ने



सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग सत्ता-साझेदारीको विषयमा छलफल चलाउँदै आएको जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्नेसहतिको एजेण्डामा बैठक शुरु गरेको छ ।

पार्टीको संसदीय दलको विधान पारित गर्ने, संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जसपा संसदीय दलको बैठक सिंहदरबारमा शुक्रबार अपराह्न शुरु भएको हो । पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै बैठकले संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

बताइएअनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको छ । दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गरिने छ भने समय भएमा सम्भवतः आजै नेता चयन हुनेछ । ठाकुरको नाम लगभग तय गरिएको भए पनि अहिले व्यक्तिको टुङ्गो नलागेको जसपा स्रोतले जनाएको छ ।

राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र सांसद् छन् ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आज थप छलफल हुने नेता कर्णले बताए ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायतको माग राख्दै आएको छ । पार्टीले संसदीय दलको बैठकपछि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्दैछ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा साँझ जसपाका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यक्रम तय भएको जसपा नेता केशव झाले जानकारी दिएका छन् ।