द्वन्द्व रोक्ने काममा पहल गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

द्वन्द्व रोक्ने काममा पहल गर्न राष्ट्रसंघीय महासचिवको आग्रह



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा द्वन्द्व रोक्ने कामका लागि अधिकतम प्रयास गर्न विश्वका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । राष्ट्रसंघीय अधिकार तथा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई उनले यस्तो यो आग्रह गरेका हुन् ।

महासचिव गुटेरेसले भनेका छन्, ‘विश्वमा द्वन्द्व कम गर्ने मात्र होइन यसलाई रोक्ने या स्थगित गर्नेतर्फ कार्यक्रमहरु केन्द्रित गर्नुपर्दछ, त्यसका लागि विश्वका सबै सदस्य राष्ट्रहरुको सक्रिय रुपमा सहयोग आवश्यक छ ।’

उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई भिडियो कन्फ्ररेन्सिङको सहायताले सम्बोधन गर्दै यसका लागि परराष्ट्र लगायतका आफ्ना नीतिहरु पनि आवश्यक रुपमा अवलम्बन गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरेका सिन्ह्वाले जनाएको छ ।

सो सम्बोधनका क्रममा महासचिव गुटेरेसले भनेका छन्, ‘म सबै सदस्य राष्ट्रहरुसँग यो आग्रह गर्न चाहन्छु कि विश्वमा द्वन्द्व रोक्ने अर्थात यसको प्रभाव कम गर्ने खालका उपाय र नीतिहरुको खोजी गर्ने होइन कि द्वन्द्वको अवस्था आउनै नदिने र आए पनि त्यसलाई निर्मूल पार्नेगरी नीति नियमहरु बनाउनु आवश्यक छ ।’

विश्वमा अहिले नागरिकहरुले विभिन्न प्रकारका द्वन्द्वहरु र त्यसबाट सिर्जित हिंसा खेपिरहेका छन् भन्दै महासचिव गुटेरेसले यस्ता कैयौँ प्रकारका द्वन्द्व तथा हिंसाहरुलाई झन् बढाउने काममा कोभिड १९ को महामारीले इन्धनको काम गरेको बताए ।

त्यसैले पनि यस्ता द्वन्द्वहरुको कारण खोजेर तिनलाई निर्मूल गर्नेगरी काम गर्नुपर्ने उनको भनाइ छ । महासचिव गुटेरेसले यस कार्यका लागि सहजीकरण गर्न राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई निर्देशन पनि दिएका छन् ।