गजल-केशवप्रसाद मैनाली

गजल-केशवप्रसाद मैनाली


ठूलाबडा बन्छन् यहाँ झेल गरी-गरी
साना भने बाँचेका छन् सधैं मरी-मरी !

सफेदपोस अपराधी रात परेपछि
रावण यहाँ राम बन्छ सीता हरेपछि !

चोरलाई चौतारी छ साधुलाई सूली
हालीमुहाली पराइको पाखा घरमुली !

आत्मा सबै बेचिसके कठपुतली बनी
पाइला चाल्छन् विदेशीको इशारालाई गनी !

आफ्नो देश आफ्नो भेष गर्छन् खिसी-हाँसो
नक्कल गर्दा पराइको ? लाग्ला गलपासो !

यो अजीव उपत्यका खाल्डो !-प्रकाश प्रधान
काठमाडौं, नेपालको राजधानी
देउतैदेउताको मन्दिर देश
जगजाहेर हाम्रो देश, त्यसको पनि केन्द्रीय सदरमुकाम
यहाँ एउटा यस्तो पनि देउता छन्
नेपरसिङ
सधैं टेन्सन रिसाउने उल्का गर्ने मनपर्दो गर्ने
नेप्रिएको शक्ति
धनले फुल्ने मानले फुल्ने शक्तिले मात्तिने
निखुल्किएकाको बुद्धिमा राज गर्ने
केन्द्रीय शक्ति वा निर्णायक भूमिकाका खेलाडी
नायकहरूको जमघट भइरहने राजधानी
अधिकांश जिम्मेवारीप्रति इमानदारीभन्दा
शक्ति प्रदर्शन, हैसियत बिर्से भिष्म प्रतिज्ञा भुलेर
आफूले भनेजस्तै हुनुपर्ने अभिमानी स्वभाव
तिनै देउताको अदृश्य प्रभाव त होइन कतै

त्यो ठाउँमा पुगेपछि झ्याउरे पनि वीरे
लुते लाम्रे पनि झम्टे जङ्गे
सुधो लाटोबुङ्गे पनि अजङ्गको बाह्रसिङ्गे
अल्लारे सरल मिलनसार पनि अडियल बज्र ठिङ्गे
समुद्रपारका विदेशी पनि लगातार एकाध वर्षबसे
नेपरसिङ लाग्छ भन्ने किंबदन्ती

त्यही देउताको प्रभावले हो कि जस कसैले जे पनि गर्न खोज्ने
लहरै हात मात्र उठाएर देश उठाउन खोज्ने
धाक मात्र हाँकेर देश अघि बढाउन खोज्ने
अठोट मात्र सुनाएर सबलाई लठ्याउन खोज्ने
बाहिरी आदर्श मात्रले भित्री नियत छोप्न खोज्ने
र्‍याङठ्याङ मेलमिलाप सद्भावले चाहिँ बेलैमा क्यै नहुने
खाल्डो बुद्धि भ्यागुते बुद्धिसमेत कहलिएको ठाउँ
अधिकतर भ्रष्ट बुद्धि रुष्ट मन सुस्त कर्म निकृष्ट बोली
यो उपत्यकाको ठाउँ नै यस्तो हो कि !

सद्दे शुद्ध मान्छेमा पनि विकृत स्वभाव मनोवृत्ति पल्हाउने
दुईजनाको कुरा मिल्दैन
असंख्य जमातको त के गर्ने खै !
धन्य नेपरसिङ !