एमालेको बैठकले तोक्यो दशौँ महाधिवेशनको मिति

एमालेको बैठकले तोक्यो दशौँ महाधिवेशनको मिति



माधवपक्षीय नेताहरु जिम्मेवारीविहीन

नेकपा (एमाले)को केन्द्रीय समिति बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । प्रधानमन्त्री निवासमा शुक्रबार बसेको बैठकले पार्टीको दशौँ महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको छ । पार्टीको दशौं महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय बैठकले गरेको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीलाई हटाएको छ । २०७१ सादमा भएको नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट उपाध्यक्षमा विद्यादेवी भण्डारी, वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली चुनिएका थिए । यस्तै महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ भने बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनित गरिएका छन् । योसँगै एमालेको केन्द्रीय सदस्यको संख्या २६४ पुगेको छ ।

बालुवाटार बैठकले पार्टी विघटनको भूमिका निर्वाह गरेका माधवकुमार नेपालपक्षीय कतिपय नेताहरूलाई जिम्मेवारीविहीन बनाएको छ ।

अदालतको आदेशबाट पुनर्जीवित एमालेको अर्को बैठक चैत ७ गते बस्ने बताइएको छ ।

एमाले बैठकले प्रदेशका इन्चार्ज पनि परिवर्तन गर्दै प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, गण्डकी प्रदेशमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।