- कविकिरण न्यौपाने, जापान
सर्वोच अदालतको फैसलापछि नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि जापानमा रहेको एमालेनिकट प्रवासी नेपाली मञ्चमा विवाद र झमेला उत्पन्न भएको छ । तात्कालिन अधिवेशन २०१६ नोभेम्बर २६ र २७ तारिख टोकियोमा सम्पन्न हुदा महेन्द्र श्रेष्ठको अध्यक्षतामा समिति गठन भएको थियो । श्रेष्ठले उक्त समिति ब्यूँतिएको भनेपछि लफडा शुरु भएको हो । श्रेष्ठले विज्ञप्ति नै निकालेर उक्त कुराको जानकारी गराएका छन् ।
विज्ञप्तिमा श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहिर्गमन र नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई पुनर्जीवित गरेको सर्वोच्च अदालतको फैसलाबाट प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापान पनि सोही स्थानमा फर्केको जिकिर गरेका छन् ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानको अध्यक्षको भूमिकामा रही जापानमा रहेको संगठन र संगठनको जिम्मा दिएको कार्यवाहक अध्यक्ष सिद्धार्थ श्रेष्ठ र बाबुराम भण्डारीलाई ब्यवस्थापनको जिम्मा र महासचिव सुरेश केसी र उपमहासचिव राजेन्द्र श्रेष्ठलाई एकिकृत (रामबहादुर बादल)संगठनको जिम्मा, कार्यालय ब्यवस्थापन सचिव विकास पौडेल र जीवन अर्यालसँगै आर्थिक ब्यवस्थापन कोषाध्यक्ष पशुपति गिरीलाई जिम्मा दिँदै केही दिनभित्र बैठक आब्हान गरी २१औं राष्ट्रिय अधिवेशन आयोजक कमिटी बनाउने अभियानमा जुटेको श्रेष्ठको भनाई छ।
नेकपा (एमाले) ब्यूँतिएसँगै गत बुधबार श्रेष्ठले प्रवासी नेपाली मञ्च जापानका नेतृत्वहरुसँग अनौपचारिक छलफल गरेको बताउँदै छिट्टै सदस्यता नवीकरण, क्षेत्रलाई क्रियाशील गराउने बताएका छन् । श्रेष्ठका अनुसार आफू नेपालको जनप्रतिनिधीको रूपमा रहेको र जापानमा नबस्ने भएकोले संगठनको अधिवेशन गरी क्रियाशील नेतृत्व बनाएर छोड्ने बताए ।
उता प्रवाशी नेपाली मञ्च जापानका महासचिव डा. सरोज कँडेलले महेन्द्र श्रेष्ठले भ्रम फैलाउन खोजेको दाबी गर्दै प्रवासी नेपाली मञ्च जापानको २०औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष महेन्द्र श्रेष्ठ पर्वत जिल्लाको पैयुँ गाउँपालिकाको वडाअध्यक्ष निर्वाचित भएपश्चात कार्यक्षेत्र नेपाल भएको कारणले हाम्रो पार्टी नेकपा एमालेको केन्द्रीय कार्यालयबाट प्राप्त पत्रको आधारमा यहाँको कमिटिको आठौँ बैठकबाट ससम्मान बिदा गरिएको र वहाँको संगठित सदस्यता पनि नेपाल सरुवा भएको बताए । कँडेलका अनुसार त्यस ठाउँमा तत्कालिन कमिटिको महासचिव सुरेस केसीलाई चयन गरिएको थियो । आफू रहेको यस कमिटीलाई प्रधानमन्त्री परराष्ट्र सल्लाहकार तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईले सपथ खुवाएको कमिटी अस्तित्वमा हुँदाहुँदै कसैले चुनौती दिन नसक्ने उनको जिकिर छ।
हाल प्रवाशी नेपाली मञ्च, जापानका अध्यक्ष सुरेश केसी नेपाल भएको बताउँदै कँडेलले अध्यक्ष सुरेश केसीले हालै प्रवास इन्चार्ज डा. राजन भट्टराईलाई भेट गरेको र प्रवास इन्चार्ज डा. राजन भट्टराई बाट पछिल्लो समय बनेको कमिटी नै अधिकारिक कमिटी हो, त्यसैअनुसार नै काम गर्नु र यस कमिटीमा बस्न चाहने साथीहरुलाई वहाँहरुको ब्यबहार र गतिविधि मुल्यांकन गरेर कमिटीमा समाबेस गर्नु भन्ने निर्देशन प्राप्त भएको कँडेलले बताए । त्यसैले कुनै भ्रममा नपर्न सबैलाई डा. कँडेलले अनुरोध गरेका छन् ।
प्रतिक्रिया