चेम्बरअध्यक्ष राजेशकाजी भन्छन्- ‘समृद्ध नेपाल सुखी नेपाली अभियानको हामी सारथी !’

चेम्बरअध्यक्ष राजेशकाजी भन्छन्- ‘समृद्ध नेपाल सुखी नेपाली अभियानको हामी सारथी !’



वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स (पर्सा)को ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यावसायिक हकहीत तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीहरूलाई आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सले ७०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनको भनाइ थियो । सरकारले अघिसारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको हामी सारथी हौँ भन्दै अध्यक्ष श्रेष्ठले यो यात्रामा हातेमालो गर्दै अघि बढ्ने जिकिर गरे ।

यसैबीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हरिवन चेम्बर अफ कमर्स (सर्लाही)को भवन शिलान्यास गरेका छन् । हरिवन चेम्बरका महासचिव टिआर लुइँटेलले चन्दा संकलन लगायतबाट भवन निर्माण कार्य सम्पन्न गरिने जानकारी दिए ।

हरिवन चेम्बरले प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरी पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमसमेत सम्पन्न गरेको छ । हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको छ । हाल यसमा २८४ जना सदस्य छन् ।

यस्तै, महोत्तरी चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले प्रमाणपत्र वितरण गरेका छन् । बर्दिवासमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उनले प्रमाणपत्र वितरण गरेका हुन् ।

यसैक्रममा नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवको अवसरमा बारामा व्यवसायीहरूबीच परिचयात्मक भेटघाट भएको छ । बारामा चेम्बरको जिल्ला कमिटी र तीनवटा स्थानीय तहमा कमिटीहरू गठन भएका छन् ।

मकवानपुर चेम्बर अफ कमर्सले पनि शुक्रबार स्थानीय व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।