पार्टी सभापतिबाहेकको पदमा उम्मेदवारी नदिने शेखर कोइरालाको उद्घोष

पार्टी सभापतिबाहेकको पदमा उम्मेदवारी नदिने शेखर कोइरालाको उद्घोष



नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने जिकिर गरेका छन् ।

नेपाल प्रेस युनियन खोटाङले शनिबार त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।

अहिले नेपाली कांग्रेसभित्रको लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको नेता कोइरालाले बताए । मुलुकमा विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप लगाउँदै उनले भने, ‘संसद् पुनःस्थापना भएपछि राजनीतिक दलको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ, वर्तमान परिवेशमा प्रतिनिधिसभा अनिर्णयको बन्दी भइरहनुपर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन ।’

पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि अब निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएकाले आवधिक वा मध्यावधि जुनसुकै भएपनि निर्वाचन हुन आवश्यक रहेको बताउँदै अल्पमतको सरकार नभएसम्म निर्वाचनमा जान नसकिने संवैधानिक व्यवस्था भएकाले अब त्यसतर्फ लाग्नु पर्नेमा उनले जोड दिए ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा युवा नेता विदुर तिम्सिना, जिल्ला सभापति नरेश श्रेष्ठ, पूर्वजिल्ला सभापति विष्णुकुमार राई, हलेसी तुवाचङु नगरपालिकाका नगरप्रमुख इवन राई लगायतको उपस्थिति थियो ।