कोभिड-१९ सङ्क्रमणबाट विदेशमा नेपाली निधन हुने संख्या शून्य

कोभिड-१९ सङ्क्रमणबाट विदेशमा नेपाली निधन हुने संख्या शून्य



कोभिड-१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो ६ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार गत वर्षदेखि विश्वव्यापी रुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

हालसम्म ५३ देशमा ६३ हजार ३०७ नेपालीमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । तीमध्ये ६१ हजार २३७ सङ्क्रमण मुक्त भएका छन् ।

कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।

समितिका संयोजक डा. सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । उनले केही अपवादबाहेक खोप प्रयोगबाट गम्भीर समस्या नदेखिएकाले खोप लगाउन आह्वान गरेका हुन् ।