माओवादी केन्द्रको बैठक : दलको नाम र कम्युनिष्ट पार्टीबीच एकताबारे छलफल

माओवादी केन्द्रको बैठक : दलको नाम र कम्युनिष्ट पार्टीबीच एकताबारे छलफल


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा नेकपा (एमाले) र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक उक्त दलको केन्द्रीय कमिटी बैठक बसेको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, दलको अवस्था र आगामी दिनमा खेल्ने रणनीतिका बारेमा छलफल भइरहेको छ । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराइरहेका छन् ।

बैठकमा सरकार गठन र त्यसका लागि दलबीच भइरहेको वार्ता प्रक्रियाका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा सहभागी एक नेताका अनुसार दलको नाम तथा कम्युनिष्ट पार्टीबीचको एकताको विषयमा समेत बैठकमा छलफल भइरहेको छ ।

यसअघि शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको तथा एमाले पार्टी कमिटीमा रहेका नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो ।