नेतृत्व परिवर्तन भए सरकारलाई समर्थन जारी रहन्छ, नभए जसपालाई दिइन्छ : मातृका यादव

नेतृत्व परिवर्तन भए सरकारलाई समर्थन जारी रहन्छ, नभए जसपालाई दिइन्छ : मातृका यादव


  • हेमशंकर सिंह, सप्तरी

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले वर्तमान सरकारको नेतृत्व परिवर्तन भए आफ्नो पार्टीको समर्थन जारी रहने बताएका छन् । प्रेस संगठन नेपालको सप्तरी शाखाद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले माओवादी केन्द्र सरकारबाट समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको खुलासा गर्दै नेकपा एमालेबाट सरकारको नेतृत्व परिवर्तन भए समर्थन जारी रहने जिकिर गरे ।

पार्टी एकीकरणपछि नेकपा माओवादी केन्द्रका नेताहरु उदारवादी हुनु नै आफुहरुको कमजोरी भएको र सो कमजोरीको फाइदा केपी ओलीले उठाएर सहमतिको उल्लंघन गरेको आरोप लगाउँदै यादवले भने, ‘सहमतिको पालना नगरी ठग्न खोज्ने ओलीसँग अब कुनै प्रकारको सहकार्य हुन सक्दैन ।’

पार्टी एकीकरणका लागि न्यायिक पुनरावलोकनमा सर्वोच्च जाने या नजाने विषयमा कानूनविदहरुसँग छलफल भइरहेको र कानूनविदको रायबमोजिम पार्टी पुनरावलोकनका लागि सर्वोच्च जाने जानकारी समेत यादवले दिए ।

सेटिङ्गमा सर्वोच्चद्वारा भएको फैसलाका कारण प्राविधिक रुपमा पार्टी बिभाजित भए पनि सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्न एकता अभियान जारी रहेको र सोबारे देशमा बहस चलाउनसमेत आवश्यक रहेकोमा जोड दिँदै उनले भने, ‘अरु भन्छन् कम्युनिष्ट खत्तम भयो, कम्युनिष्ट बिग्रेपछि खत्तम होइन खतरनाक हुन्छ जसको उदाहरण ओली हो ।’

देशमा सहकार्यको राजनीतिको खाँचो रहेकाले अग्रगमन पक्षधरहरुबीच सहकार्य गरी प्रतिगामी सरकारलाई परास्त गर्न आफ्नो पार्टी अग्रसर रहेको दाबी उनले गरे ।

संचारकर्मीहरुद्वारा सोधिएको एक जिज्ञासामा उनले प्रतिपक्षी नेपाली कांग्रेस समर्थन दिन तयार भए आफ्नो पार्टी जनता समाजवादी पार्टीलाई सरकारको नेतृत्व दिन तयार रहेको यादवले बताए ।