तराईका सीमावर्ती क्षेत्रमा भारी मात्रामा खुलेका मदरसाका विद्यार्थीहरूलाई नेपालबारे कुनै पनि जानकारी दिने नगरिएको रहश्य खुलेको छ ।
प्रदेश नं. २ का प्रमुख डा. राजेश झा आफ्नो प्रदेशको एउटा मदरसामा पुगी त्यहाँ अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रियात्मक छलफल गर्ने क्रममा उक्त रहश्योद्घाटन भएको हो ।
चैत १ गते आइतबार बिहान प्रदेश प्रमुख झा जनकपुरको नजिकै लोहना नामक स्थानमा सञ्चालित मदरसा पुगेका थिए । एकाबिहानै प्रदेश प्रमुखलाई आफ्नो मदरसामा पाउँदा हर्षित भएका शिक्षकहरूले राज्यप्रति गम्भीर गुनासो गर्दै आफूहरूलाई राज्यले भेदभाव गरेको, सामुदायिक विद्यालयसरहका कुनै पनि सेवा-सुविधा र अधिकार नदिएर उपेक्षा र अपमान गरेको बताएका थिए ।
शिक्षकहरूको आक्रोशपूर्ण गुनासो सुनेपछि प्रदेश प्रमुख झा विद्यार्थीहरू पढिरहेको कक्षा कोठामा प्रवेश गरे र उनीहरूलाई अभिवादन गर्दै सोधे- ‘ल भन त भाइबहिनीहरू हाम्रो देशको राष्ट्रपतिको नाम के हो ? जवाफ आयो- थाहा छैन !’
राजेशले प्रधानमन्त्रीको नाम सोधे, त्यसको जवाफ पनि ‘थाहा छैन’ भन्ने नै आयो । त्यसपछि राजेशले नेपालका जिल्लाहरूको सङ्ख्या, प्रदेशको सङ्ख्या र नाम, प्रदेश नं. २ मा रहेका जिल्लाहरूको सङ्ख्या र नाम लगायत देशसँग सम्बन्धित केही आधारभूत प्रश्न गरे, तर कुनै पनि प्रश्नको जवाफ विद्यार्थीबाट आएन । समग्रमा ती सबै विद्यार्थी नेपालको बारेमा पूरै अनभिज्ञ भेटिए ।
त्यसपश्चात कक्षा कोठाबाट बाहिर निस्किएर शिक्षकहरूलाई राजेशले प्रश्न गरे- ‘के राज्यबाट सेवा, सम्मान, समानता र सुविधा खोज्नेले आफ्ना विद्यार्थीलाई आफ्नै देशबारे न्यूनतम् जानकारी गराउनु पर्दैन ? के नेपालबारे आधारभूत ज्ञान दिन पनि तपाईंहरूलाई छुट्टे बजेटको आवश्यकता पर्छ ?’
प्रदेश प्रमुखको प्रश्नले शिक्षकहरूलाई निकै मुस्किल पाऱ्यो । सबै शीर निहुराएर मौन रहे । त्यसपछि त्यहाँ भएकामध्ये दुई शिक्षकलाई नेपालको नक्सा अङ्कित लोगो छातीमा लगाइदिँदै राजेशले भने- ‘अर्कोपटक म आउँदा सबै विद्यार्थीले देशका बारेमा आधारभूत ज्ञान पाएको हुनुपर्छ । त्यसपछि मात्र समानता र सम्मानका कुरा गरौँला ।’
प्रतिक्रिया