विगतका तिक्तता मेटाउने उपक्रममा एमालेका नेताहरु

विगतका तिक्तता मेटाउने उपक्रममा एमालेका नेताहरु



पछिल्लो पटक नेकपा (एमाले)का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन भएको छलफल विनानिष्कर्ष सकिएको छ ।

एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सोमबार बिहान छलफल शुरु भएको थियो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिई एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएपछि एमाले अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना बैठकले केन्द्रीय कमिटीका पदाधिकारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेका थिए, त्यसबाट दुई समूहबीच तिक्तता पैदा भएको थियो ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र एमाले ब्युँतिएपछि पहिलो पटक शीर्ष नेताहरु एमालेलाई एकताबद्ध बनाउन र एकापसमा देखिएका विवाद सुल्झाउन छलफलमा जुटेका हुन् । गत फागुन २३ गते नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका हुन् ।

आजको छलफलमा महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, सुवास नेम्बाङ, प्रदीपकुमार ज्ञवाली तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी भएका थिए ।

अध्यक्ष ओलीले यही चैत ७ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् भने नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्दैछ ।