गुटगत भेला नगर्न/नगराउन प्रधानमन्त्रीको आग्रह

गुटगत भेला नगर्न/नगराउन प्रधानमन्त्रीको आग्रह



प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न/नगराउन सबैलाई आग्रह गर्नुभएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उहाँले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गर्नुभयो ।

‘एमाले आबद्ध कोही पनि नेता वा कार्यकर्तालाई भोलिको गुटगत भेला नगराउन/नगर्न, त्यस्तो भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउन चाहन्छु’, उहाँले भन्नुभयो, ‘सबैलाई पार्टी एकताका पक्षमा बस्न आग्रह गर्न चाहन्छु ।’

पार्टी २०५३ जेठ ३ गते भन्दा अगाडिको स्थितिमा फर्के पनि केही साथीहरु छुट्टै भेला बैठक गरेर निहुँ खोजिरहेको उहाँले बताउनुभयो ।

पार्टी अध्यक्ष ओलीले एउटै पार्टीभित्र अराजकता, अनुशासनहिनता, पार्टीको विधि विधान विपरीत काम र एकता विरोधी क्रियाकलाप गर्न छुट नभएको धारणा राख्नुभयो । ‘पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने, यो हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘पार्टीमा हामी सवैले आआफ्ना हिसावले एकतावद्ध, विचारमा केन्द्रीत भएर काम गर्नुपर्दछ ।’

बुधबार र बिहीबार काठमाडौमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछन् ।

एक थरी पार्टीका साथीहरुले चियापान नदेखेको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्षको निमन्त्रणामा चियापानमा नजाने पार्टीका साथीहरु कस्को निमन्त्रणमा जानुहुन्छ त ?’ उहाँले पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनु राम्रो लक्षण नभएको स्पष्ट पार्दै भोलिको भेला स्थगित गर्ने केही समय बाँकी रहेकोले स्थगन गर्न आग्रह गर्नुभयो । ‘अझ केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि हुँदैन उहाँहरुले,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भोलिको भेलामा कति तमासा गर्नुहुन्छ । एक नजर त्यता राखिनेछ ।’

उहाँले कसैले पार्टीलाई धम्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको भए त्यस्तो नसोच्न समेत आग्रह गर्नुभयो । उहाँले सत्यसँग नलड्ने र निहुँ खोज्नेसँग नझुक्ने समेत स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले एमालेमा रहेका नेता तथा कार्यकतालाई अन्याय नगर्नेसमेत बताउनुभयो । ‘पार्टीमा कसैमाथि पनि अन्याय हुँदैन । ठूला ठूला अपराध भएका छन् तर पनि एउटा फराकिलो हृदय लिएका छौँ’, उहाँले भन्नुभयो, ‘एकदम अपराध गर्नेलाई पनि स्वागत छ भनेर म भन्दिनँ । तर सच्चिएर आउनेलाई पार्टीमा काम गर्नका लागि स्वीकार र्छौं ।’

उहाँले संसद् देश र जनताको हितमा काम गर्ने थलोका रुपमा भए पनि काम गर्न नपाएको धारणा राख्नुभयो । ‘संसद्लाई स्वार्थको खिचातानीको थलो होइन, दलीय र गुटगतको थलो होइन, देश र जनताको हित तथा विकासको काम गर्ने थलो बनाऔँ’, उहाँले भन्नुभयो, ‘तर संसद्लाई त्यसरी चलाइएको र चलाउन दिइएको छैन ।’ चियापानमा एमालेका केन्द्रीय सदस्य तथा सांसद उपस्थित भएका थिए । चियापानमा वरिष्ठ नेता नेपाल पक्ष भने सहभागी भएन ।

तस्बिर रासस