अब केही नगर्ने हो भने देश बाँच्दैन !

अब केही नगर्ने हो भने देश बाँच्दैन !


  • डा. युवराज संग्रौला

‘देश जनताको हो’, इसापूर्व चिनियाँ कन्फुसियसका चेला मेन्सियसले भनेका थिए– जनता देशका मालिक हुन् । यही कुरा चाणक्यले सम्राट धन नन्दलाई बताएका थिए । चिनियाँ विद्वान् साङ्ग याङ्गले बताएका थिए– जबसम्म जनतालाई उत्पादनका लागि प्रेरित गरिँदैन, जनतालाई धनी बनाइँदैन, राष्ट्रको सुरक्षा हुँदैन ।

नेपालमा १८१४मा ब्रिटिस साम्राज्यवादले आक्रमण गरी देशको ठूलो भूभाग लुट्दै नेपाललाई आफ्नो प्रभावमा राखेपछि–

१. आजसम्म नेपालले अपमानको २०० वर्ष लामो इतिहास बोकिरहेको छ र, आज पनि नेपाल यस अपमानपूर्ण इतिहासको विष पिउँदै बाँचिरहेको छ । तर हाम्रा राजनीतिक दलहरूले यो अपमानपूर्ण इतिहासलाई अनुभूति गर्न सकेनन् ।

२. ब्रिटिस साम्राज्यवादले नेपाली युवाहरूको शोषण गर्न थालेको पनि २०० वर्ष भैसकेको छ । अहिलेसम्म हाम्रा आठ लाख युवाहरूको प्रयोग भैसकेको छ । दुई लाख युवाहरू पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका छन्, तर उनीहरूको परिवारले केही पाएनन् । तर हाम्रो राजनीतिले यी पीडित जनताको पीडालाई कहिल्यै महशुस गर्न सकेको छैन । आज पनि देश आफ्ना नागरिक विदेशी सेनामा गएको देख्न बाध्य छ । हामी २१ शताब्दीमा पनि उपनिवेशको अधीन मान्न बाध्य छौँ ।

३. हामी दुई खर्बको खाद्यान्न बिदेशबाट ल्याउँछौँ । तर्कारी, मासु, फलफूल, लुगा, कपडा, भाँडाकुँडा सबै विदेशबाट ल्याउँछौँ । हाम्रो ब्यापार घाटा १२ खर्बभन्दा बढी छ । जमीन बाँझो छ । पाहाड खनेर हामी कथित बाटो बनाउने नाममा भ्रष्टाचारको खेती गरिरहेका छौँ । नीतिगत भ्रष्टाचारले सीमा नाघेको छ । शिक्षा पङ्गु बनेको छ । संस्कृति बिलिन हुँदैछ । सबै मातृभाषा लोप हुँदैछन् । देशको उच्च शिक्षा नै अब वर्गीय भेदभावको कारण बन्दै छ । उच्च शिक्षामा माथिल्लो २० प्रतिशतको मात्र पहुँच छ । यस वर्गका करिव ४ लाख विद्यार्थीहरूलाई सरकार प्रतिवर्ष ५८ हजार खर्च गर्छ, तर यस वर्गका ६० हजार विद्यार्थी विदेश जान्छन् र उनीहरूले वर्षेनी १३ खर्ब विदेश लैजान्छन् । देशमा काम गर्ने युवा छैनन्, नेपाल आएर भारतीयहरू काम गर्छन् र वर्षेनी ५ खर्ब भारत लैजान्छन् । तर पनि राजनीति मौन छ । जनताको करबाट नेताहरू गाडी चढिरहेका छन् ।

४. देशको अर्थतन्त्र माफियाका हातमा छ । माफिया र दलालहरूबाट राजनीिितक पार्टीहरू चन्दा लिन्छन् । राज्यका सबै निकायमा निवृत्त कर्मचारीको नियुक्ति हुन्छ र, उनीहरूको नियुक्तिमा दलाल र माफियाको लगानी हुन्छ । पदका लागि बौद्धिकहरू नैतिकता बेच्ने गर्छन् । वकिलको ठूलो सङ्ख्या दलाली गर्छ र डाक्टरको ठूलो सङ्ख्या जीवनको ब्यापार गर्छ । उपभोक्तावाद नसामा कुद्ने रगत बनेको छ । बेइमानी धर्म बन्न पुगेको छ । सरकारले जन्म, मृत्यु, विवाह, किताब र ज्ञानमा कर लगाएको छ ।

५. हामी दुई सय वर्ष अँध्यारोमा बाँचिरहेका छौँ । हाम्रो ज्ञानले मुर्खता उत्पादन गर्दछ । मानिसहरू निराशा र फोहोरी कुरा गर्दछन् । जिन्दावाद र मुर्दावादका लागि विद्यार्थी सडकमा लड्छन् । विश्वविद्यालय गाइगोठ बनेका छन् । मानिसमा वैज्ञानिक चेतना र विचारधारा होइन, ब्यक्ति पूजा मौलाएको छ । सत्ता ‘प्रेमिका’ र भ्रष्टाचार ‘सन्तान’ बनेका छन् ।

६. तर पनि नेता आफ्नो स्वार्थको राजनीति गर्न मात्र उद्यत् छन् । राज्नीतीमा लाग्नेका बोली असभ्य मात्र होइन असलिल छन् । नेताहरू फोहोर बोल्छन् । उनीहरूलाई देशको समृद्धिको कुनै चासो छैन । जनताको बेहाल उनीहरू देख्दैनन् ।

६. अब सत्ताको राजनीतिको अन्त्य हुनुपर्छ । मित्रहरू, अब केही नगर्ने हो भने देश बाँच्दैन ।
अब के गर्ने त ?

क) अब पुरानो पुस्तालाई राजनीतिबाट बिदा हुन भनौँ । अब उनीहरूले दोश्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ । देश धरापमा परेको छ । प्रधानमन्त्रीको तीन बर्षसम्म गफ सुनियो तर काम गरेको अनुभूति जनतालाई भएन । अरु नेता विकल्प बन्ने होइन प्रतिक्रियात्मक मात्र बने । अब देश नेता र पार्टीको होइन जनताको हुनुपर्छ ।

ख) राज्य राजनीतिक दल होइन । किन बालुवाटारमा पार्टीको बैठक बस्छ ? राज्यको खर्चमा किन चिया र नास्ता पार्टीको मिटिङमा खर्च गरिन्छ ? किन मन्त्रीहरू सरकारको सुविधा लिएर पार्टीको प्रचारप्रसारमा लाग्छन् ? अब राज्यको दोहन पार्टीले गर्ने प्रचलनलाई भ्रष्टाचार मान्नुपर्छ र विरोध गर्नुपर्छ ।

ग) अब समता निर्माण गर्ने, आमजनताको उत्पादकत्व निर्माण गर्ने, डाँडाकाँडा नभत्काउने, स्वाभिमानी मानिस निर्माण गर्ने विकाशका लागि वैज्ञानिक चेतना निर्माण गर्ने अभियान निर्माण गर्नुपर्छ ।

त्यसैले अब भनौँ–

१. प्रधानमन्त्री भइसकेका नेताहरू पद त्यागेर जनताका अभिभावक बन्नुहोस् ।
२. युवा पुस्तालाई राजनीति हस्तान्तरण गर्नुहोस् ।
३. विचारविहीन भ्रष्ट राजनीतिलाई त्यागौँ ।
४. अब अपमानित इतिहासलाई अन्त गरौँ ।
५. उत्पादनको कार्यमा हरेक नागरिक लागौँ ।
६. असल मानिस एकजुट भएर बुद्धि र विवेकको आधारमा राष्ट्रको निर्माण गरौँ ।
७. आउनुहोस्, एकजुट भएर नेपालको समृद्ध भविष्य निर्माण गरौँ ।

(डा.सङ्ग्रौलाको फेसबुकबाट)