कांग्रेसकै नेतृत्वमा नयाँ सरकार निर्माण हुने शशाङ्क कोइरालाको दाबी

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार निर्माण हुने शशाङ्क कोइरालाको दाबी


नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल भइरहेको र चाँडै निर्णय हुने दाबी गरे ।

वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउँदै जानकारी दिँदै नेता कोइरालाले तीन दलबीच सहज बहुमत पुग्ने हुनाले वर्तमान सरकार हट्ने दाबी गरे ।

महामन्त्री कोइरालाले संसद्को निर्वाचनका लागि तीन वर्ष समय रहे पनि नयाँ बन्ने सरकारले निर्वाचनको नयाँ मिति घोषणा गरी आगामी मङ्सिरमा निर्वाचन गर्ने सम्भावना रहेको बताए ।

वर्तमान सरकारले संसद् विघटन गरेको हुनाले यसलाई कुनै पनि हालतमा समर्थन नगर्ने जिकिर गर्दै उनले विगत तीन वर्षमा जनता खुशी हुने कार्य सरकारले नगरेको आरोप लगाए ।

कांग्रेसको महाधिवेशन घोषित मिति आगामी भदौमा सम्पन्न हुनेछ भन्दै यसका लागि क्रियाशील सदस्यको नवीकरणको कार्य भइरहेको जानकारी पनि कोइरालाले दिए ।

pict:rss