तान्जानियामा सामिआ सुलुह हसन देशकै पहिलो महिला राष्ट्रपति भएकी छन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी छन् ।
तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हुन् । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी हुन् ।
हसनले इमानदार भइ व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छन् । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो चरणको बाँकी अवधिमा काम गर्नेछिन् । सो अवधि सन् २०२५ सम्म रहने सिन्ह्वाले जनाएको छ ।
पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्ने छिन् ।
प्रतिक्रिया