भारतको सहयोगमा नुवाकोटमा हालै पुनर्निर्माण गरिएका चार वटा विद्यालयको संयुक्त रूपमा उद्घाटन गरिएको छ ।
भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटमा पुनर्निर्माण गरिएका चारवटै विद्यालयको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
श्री कालिका, श्री पिपलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालयको भवन भारत सरकारको पुनर्निर्माण अनुदानअन्तर्गत हालै निर्माण सम्पन्न गरिएका हुन् ।
उद्घाटन समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्पप्रतिरोधी मापदण्डअनुरुप निर्माण गरिएका उल्लिखित चार विद्यालयहरूको पुनर्निर्माण लागत करिव १६ करोड ७० लाख रहेको बताइएको छ । यी नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ ।
चारवटै विद्यालयमा अध्ययनरत १८ सय भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्ने सम्बद्ध पक्षको भनाइ छ ।
शिक्षाको क्षेत्रमा पुनार्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घताअनुरुप नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ । यी चार विद्यालय पनि यही परियोजनाअन्तर्गतका हुन् । यस परियोजनाबाट लाभान्वित हुने आठ जिल्लाहरू क्रमशः गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं हुन् । हालसम्म ८ वटा विद्यालय निर्माण भइसकेका छन् भने बाँकी ६२ वटा विद्यालयहरू निमार्णाधीन अवस्थामा छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख कुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षा नै सर्वोत्तम लगानी रहेको कुरामा विशेष जोड दिनुभयो । ज्ञातव्य छ, शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गर्दै भारत सरकारले सन् २००३ यता सयौँ शैक्षिक क्याम्पस निर्माण गरिसकेको छ । राष्ट्रको विकासमा योगदान पु¥याउन र भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको ३००० भन्दा बढी छात्रवृत्तिको लाभ लिन नवीन कुमारले नेपाली विद्यार्थीलाई प्रोत्साहित गर्नुभयो ।
यी बाहेक स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता पनि जनाइसकेको छ । अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरू निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरूले लाभग्राहीहरूलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुनयाएका नेपालका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सवलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भारतको आर्थिक सहयोगमा भइरहेको छ । पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न दुवै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको छ ।

प्रतिक्रिया