राष्ट्रपतिको राजकीय भ्रमण : नेपाल-बङ्गलादेश सम्बन्ध नवयुग प्रवेशको अपेक्षा

राष्ट्रपतिको राजकीय भ्रमण : नेपाल-बङ्गलादेश सम्बन्ध नवयुग प्रवेशको अपेक्षा


  • शरच्चन्द्र भण्डारी, काठमाडौं

नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालीरहेका छन् ।

नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका नागरिक ढुक्क छन् । समकालीन विश्वले २१औँ शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको राष्ट्रिय समृद्धिका सपना साकार पार्न सहकार्य, साझेदारी र सहयोग प्रवर्द्धनका दृष्टिले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

आपसी सम्बन्धको नवीकरण तथा पारस्परिक सहकार्य र साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउन उच्चस्तरीय भ्रमण अति उपयोगी हुने गरेका छन् । राष्ट्रपति भण्डारीको यो भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवर्द्धन, सांस्कृति सहयोग आदानप्रदान, रोहनपुर-सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

बङ्गलादेश सरकारले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा-फूलबारी-बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर-सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ । नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्नेछ ।

बङ्गलादेशले नेपाललाई उच्च महत्व र सम्मान दिँदै आएको तथा त्यही वास्तविकता प्रतिविम्बित गर्न आफ्ना राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहमा राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिएको बताउनुहुन्छ बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्र । ढाकामा राष्ट्रपति भण्डारीको राजकीय भ्रमणको भव्य तयारी भइरहेको र राष्ट्रपति मोहमद अब्दुल हमिदले आफ्ना नेपाली समकक्षीलाई सोमबार हजरत शाहजलाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको राससलाई टेलिफोनमा बताउनुभयो ।

सम्पर्क सञ्जालका बहुढाँचाको विकास, सुदृढ पारवहन सुविधाका लागि लगानी प्रवर्द्धन, पर्यटन विस्तारमा सहकार्य, ऊर्जा क्षेत्रमा साझेदारी अभिवृद्धि, सांस्कृतिक एवं शैक्षिक क्षेत्रमा थप सहयोग बढाउने तथा दुवै देशका उत्पादनलाई आ-आफ्नो मुलुक निर्वाध पुऱ्याउन सहुलियतपूर्ण व्यापार सम्झौता (पिटीए) गर्ने तयारी गरिएको भए पनि केही प्राविधिक कठिनाईका कारण राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने बताउनुभयो ।

विशेष गरी द्विपक्षीय व्यापार विस्तारका बाधक गैरभन्सार अवरोध तथा भन्सार अवरोध हटाउने, उच्च भन्सार दर घटाउने, स्थलमार्गबाट नेपाली उत्पादन बङ्गलादेशका बजारमा पुऱ्याउने, चिकित्सा शास्त्रका अधिकांश विधामा आकर्षित नेपाली विद्यार्थीलाई थप छात्रवृत्ति, उनीहरूले झेल्नुपरेका प्रवेशाज्ञालगायत समस्या समाधानमा केन्द्रित रहेर नेपालले सशक्तरुपमा आफ्ना विषय प्रस्तुत गर्ने अवसरका रुपमा यो भ्रमणलाई उपयोग गर्नसके नेपाल र नेपालीलीलाई दीर्घकालीन लाभ हुनेछ ।

नेपालका मालबाहक तथा यात्री बोकेका सवारीसाधनलाई बिना रोकटोक चटगाउँ र मोङ्ला बन्दरगाहसम्म पहुँच दिने व्यवस्था, व्यापार, वाणिज्य र पारवहनमा सहजीकरण र दुवै देशलाई हवाई, जल एवं सतहमार्गबाट जोड्दै बृहत् सम्पर्क सञ्जालमार्फत् व्यापारमात्र नभई जनस्तरमा विद्यामान आपसी आत्मीय सम्बन्धलाई अझ सुमधुर तुल्याउन भ्रमण उपयोगी हुने विश्वास दुवै देशका नागरिकले गरेका छन् ।

नेपाल र बङ्गलादेशका मालबाहक सवारीसाधानको सञ्चालनको ढाँचालाई अन्तिम रुप दिने, बजारसम्मको पहुँच तथा भन्साररहित/विशेष सुविधा कार्यान्वयनका ढाँचा परिपूर्ण गर्ने, विविध कारणले अबरुद्ध भएको ढाका-काठमाडौँ बससेवा पुनः सञ्चालन गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुऱ्याउने, नेपालको बढ्दो व्यापार घाटा घटाउन तुलनात्मक लाभका वस्तुलाई भन्सार महशुल नलिइ बजारसम्म पहुँच, भन्सार बिन्दुमा प्रक्रियागत प्रशासनिक झमेलाको अन्त्य, भन्सार प्रक्रियाको सरलीकरण, द्विपक्षीय सहमति भएका पारवहन बिन्दु तथा अन्य मार्गका साथै भन्सार नाकाका भौतिक पूर्वाधारको स्तरोन्नतिमा केन्द्रित रहेर नेपालले बङ्गलादेशका उच्च अधिकारीसँग विचारविमर्श गर्नुपर्नेमा जोड दिनुहुन्छ पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति सहायकमन्त्री राजेशकाजी श्रेष्ठ ।

मालसामानको सहज जाँचपास र व्यापार प्रप्रवर्द्धनका लागि दुवै देशका भन्सार अधिकारीहरुको संयुक्त समिति गठन, दुवै देशका सम्बन्धित निकायबीच व्यापारका प्राविधिक अवरोधको अन्त्य स्थल र हवाईमार्गबाट बङ्गलादेश प्रवेश गर्ने नेपालीलाई प्रवेश बिन्दुमा नै ‘आगमन प्रवेशाज्ञा’ बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई दीर्घकालीन प्रवेशाज्ञा जारी गर्ने, दुवै देशका व्यापारी तथा लगानीकर्तालाई व्यापारिक प्रवेशाज्ञाको व्यवस्था गर्नसके भ्रमण फलदायी हुने तर्क उहाँको छ ।

विद्युत् उत्पादन, खरिद तथा प्रसारण लाइन निर्माणलगायत आपसी सहयोग प्रवद्र्धन र परियोजना निर्माणजस्ता सहायता विस्तारका क्षेत्र पहिल्याउने, नेपालको साल्ट ट्रेडिङ कर्पोरेशनजस्ता सार्वजनिक संस्थासँग मल कारखाना स्थापानालगायत कृषि क्षेत्रका पूर्वाधार निर्माणमा बङ्गालादेशका व्यापारिक संस्थाबीच सहयोग प्रवर्द्धन र दुई देशबीच द्विपक्षीय व्यापार लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) गर्नसकेमा दुवै मुलुक लाभान्वित हुने उहाँको धारणा छ । चिया, कफी, अलैँची, अदुवा, औषधिजन्य वस्तु, कुचो, ताजा सागपात, फलफूल, धागो, दाल, कत्था, पश्मिना, हस्तकलाका सामग्रीलगायत तुलनात्मक लाभका नेपाली उत्पादनलाई भन्साररहित सुविधाका साथ बङ्गलादेशले आफ्ना बजार उपलब्ध गराइदिए हुन्थ्यो भन्ने उहाँको अभिमत छ ।

नेपाल र बङ्गलादेशका औषधि उत्पादक कम्पनीका उत्पादन दुवै देशका बजारमा सहजरुपमा पु¥याउने, आपसी पर्यटन प्रवद्र्धन, विराटनगर र भद्रपुरबाट बंगलादेशको सैयदपुर हवाई सम्पर्क स्थापनासम्बन्धी सम्भावनाको खोजी, दुवै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा एकअर्काको सहभागिता, नेपाल र बङ्गलादेशबीच जलविद्युत् उत्पादन, व्यापार र लगानीका क्षेत्रमा गर्न सकिने साझेदारीबारे पनि भ्रमणका क्रममा विचारविमर्श हुने बताउनुहुन्छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल । बङ्गलादेशसँग उसले निर्यात गर्ने वस्तुको सूची मागिएको र त्यो अध्ययनको क्रममा रहेकाले राष्ट्रपतिको भ्रमणका बेला पिटीए नहुने उहाँले स्पष्ट गर्नुभयो । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर सन्धिसम्झौता गर्नुपर्ने भएकाले पिटीएमा केही विलम्ब भएको उहाँ स्वीकार गर्नुहुन्छ ।

निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१८/१९ मा नेपालले रु एक अर्ब २९ करोड, ३४ लाख ७५ हजार ३१० बराबरका मुसुरोसहितका दलहन, अत्तर बनाउन प्रयोग गरिने जडीबुटीजन्य वनस्पतिका कच्चापदार्थ, गहुँ, काउली, गोलभेँडा, सागसब्जीका बीउबिजन, जुस, फर्निचर, कुचो, अम्रिसो, फेल्ट, काठका फर्निचर, सल, मफ्लर, जुटका बोरा, ओढ्ने बङ्गलादेश निर्यात गरेको थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर नेपालले पारस्परिक साझेदारी र सहयोगका क्षेत्र पहिल्याएर तदनुरुप काम गर्नुपर्ने सुझाव दिनुहुन्छ संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि प्राडा जयराज आचार्य । राष्ट्रपतिको भ्रमणको उद्देश्य सार्वजनिक गर्नुपर्ने मत प्रकट गर्दै उहाँ भन्नुहुन्छ, ‘आपसी सद्भाव, सहयोग, समझदारी र सहकार्यबाटै समृद्धिको लक्ष्य प्राप्तिमा बल मिल्छ, सहयोग विस्तारका अथाह सम्भावनायुक्त दुवै देशले आफ्नो राष्ट्रिय हित र जनताको बृहत्तर लाभका खातिर द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा मिलेर काम गर्नुपर्छ ।’

बङ्गलादेशले अतिकम विकसित राष्ट्रको सूचीबाट आफूलाई स्तरोन्नति गरेको बेलामा हुन लागेको राष्ट्रपति भण्डारीको राजकीय भ्रमणबाट स्तरोन्नतिको सूचीमा उक्लिने हाम्रो सपना साकार पार्न बङ्गलादेशी अनुभव र शिक्षा हासिल गर्न मद्दत पुग्नेछ भने दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्ष राष्ट्रका हैसियतले अवरुद्ध सार्क प्रक्रियालाई पुनर्जीवनसहित नव गति दिने दिशामा रचनात्मक भूमिका निर्वाह हुनसक्छ । बङ्गलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन), बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)लगायत बहुपक्षीय सङ्घसंस्थामा दुवै देशबीच सहकार्य हुँदै आएको सन्दर्भमा भावी रणनीति तर्जुमा गर्ने सुअवसर पनि यस भ्रमणबाट प्राप्त हुने अपेक्षा गरिएको छ ।

बङ्गलादेशको स्वतन्त्रता संग्राममा बंगबन्धु नेतृत्वको मुक्तिबाहिनी सेनालाई नेपालको तत्कालीन राजनीतिक नेतृत्वले हतियार समेत उपलब्ध गराएर राजनीतिक तहमा समेत उन्नत बनाएको बहुआयामिक नेपाल बङ्गलादेश सम्बन्धलाई राष्ट्रपति भण्डारीको यस राजकीय भ्रमणले थप सुमधुर बनाउने अपेक्षा गरिएको छ ।

rss