बजार अभावले करोडौँको लगानीमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा

बजार अभावले करोडौँको लगानीमा सञ्चालित हातेकागज उद्योग बन्द अवस्थामा


  • सुरेश धामी, बझाङ

बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरू बन्द अवस्थामा छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गााउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द अवस्थामा छन् ।

उद्योग बन्द भएपछि भौतिक संरचना र उपकरणहरू पनि बेवारिसे बनेका छन् भने कतिपय उपकरणहरू चोरी भएका बुझिएको छ । उद्योगको भवनवरिपरी घाँस पलाएको छ । कागज बनाउने काठका फ्रेमहरू कुहिएर काम नलाग्ने भइसकेका छन् भने लाखौँ मुल्य पर्ने विटर मेसिनहरूमा खिया लागेका छन् ।

उद्योगमा उत्पादित कागजको लागत बढ्ने र बजारमा पाइने सामान्य कागजको तुलनामा महँगो पर्न थालेपछि बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका उद्योग सञ्चालकहरूको भनाइ छ ।

खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशील खप्तड हातेकागज उद्योग विगत ५ वर्षदेखि बन्द अवस्थामा छ । २०६६ सालमा सञ्चालनमा आएको उद्योगबाट उत्पादित कागजले बजार नपाउँदा उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगका सञ्चालक गोविन्द सिंहको भनाइ छ । उनका अनुसार उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थको मुल्य बढ्दा लागत बढ्ने र बजारमा बाहिरबाट आउने कागजभन्दा महँगो हुन थालेपछि बिक्री हुन छाड्यो । उद्योग सञ्चालनमा रहेको बेला कागजका लागि कच्चा पदार्थ लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा बिक्री गर्ने, मेसिन चलाउने गरी ३० जनाले प्रत्यक्ष रोजगारी पाएका थिए । उद्योग बन्द हुँदा आयआर्जनको मुख्य बाटो बन्द भएको छ । हालसम्म विभिन्न निकायहरूमा अनुदानका लागि पहल गरेको भए पनि कतैबाट अनुदान पाइएन । मेसिन मर्मत र केही कच्चा पदार्थ खरिदका लागि अनुदान पाए अझै संचालनमा ल्याउन सकिने उनको भनाइ छ ।

बुङगल नगरपालिका-१ मा रहेको जुनेली हाते कागज उद्योग विगत ७ वर्षदेखि बन्द अवस्थामा छ । उद्योगका सञ्चालक अक्कल बोहराको भनाइ पनि उस्तै छ । बजारमा प्रतिस्पर्धा गर्न नसक्दा उद्योग नै बन्द गर्नु परेको छ । हिमाली वन विनास हुन थालेपछि कच्चा पदार्थ पर्याप्त मात्रामा नपाइने र कच्चा पदार्थ संकलन तथा ढुवानी महँगो हुन थालेपछि कागजको लागत बढ्ने गरेको तथा उचित बजार नपाउँदा बन्द गर्नु परेको उनी बताउँछन् । कुनैबेला स्थानीयको रोजगारीको गतिलो माध्यम बन्दै आएको उद्योग अहिले गौचरनमा परिणत भएको छ । उद्योग सञ्चालन ल्याउन एन्साब नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पाँच लाख रुपैयाँबराबरको उपकरण र प्रविधिमा अनुदान सहयोग गरेको थियो । त्यसयता यस उद्योगको सञ्चालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पुर्वाधार निर्माण र नवीनतम प्रविधिका उपकरण खरिद गर्नका लागि गरिवी निवारण कोषले पनि सहयोग गरेको थियो । यस्तै खप्तडछान्ना गाउँपालिकाको गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग पनि विगत ५ वर्षदेखि बन्द अवस्थामा छन् ।

दीगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था फरेस्ट स्टेवार्ड सिप काउन्सिल (एफएससी)बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग पनि बन्द भएको छ । जयपृथ्वी नगरपालिकाको कैलाशमा रहेको मालिका हातेकागज उद्योग व्यवस्थापनको लापरवाहीका कारण तीन वर्षदेखि बन्द अवस्थामा रहेको छ । भवन जीर्ण भइसकेको छ भने हाते कागज बनाउदा पानी जम्मा गर्ने पोखरीहरू भत्किएका छन् । यस्तै, उद्योग रहेका लोक्ता पकाउने ड्रम, कागज बनाउँदा प्रयोग गरिने काष्टिक सोडा, नुरीलगायतका रसायनहरू समेत चोरी भएका छन् । २०५६ सालमा कैलाशका स्थानीय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एन्साबको पहलमा यो उद्योगको स्थापना भएको थियो । विनायक पिमिडाँडा सामुदायिक वनमा आवद्ध २ सय ५० उपभोक्ताको सेयरसमेत रहेको उद्योग बन्द हुँदा झण्डै एक करोडबराबरको स्थानीय समुदाय र विभिन्न दातृसंस्थाहरूको लगानी खेर गएको छ ।

उद्योग सञ्चालन भएदेखि हालसम्म एन्साबले विभिन्न शीर्षकमा ५० लाख, जडिबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपालकै जडिबुटीको कारोबार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले पाँच लाख, बहुसरोकारवाला वन कार्यक्रमले १३ लाख र स्थानीयको श्रमदान गरी १ करोड भन्दा बढी रकम उद्योगमा लगानी भैसकेको भए पनि व्यवस्थापनको लापरवाहीले उद्योग धराशयी भएको उद्योगमा स्थापनाकालदेखि काम गर्दै आएका गोविन्द कामीले बताए । उनले भने यो उद्योगले स्थानीयलाई रोजगारी मात्रै दिएको नभई जिल्लाको प्रतिष्ठा पनि बढाएको थियो । आएको अनुदानमा आँखा गाड्ने, उत्पादनको हिसाबकिताब स्पष्ट नगर्ने र समुदायभन्दा पनि सीमित व्यक्तिले मनोमानी फाइदा लिने प्रवृत्तिका कारण उद्योग धरासायी बनेको उनको भनाइ छ ।

‘फरेस्ट स्टेवार्डसीप काउन्सिल (एफएससी)’ ले २०६४ सालमा यस उद्योगलाई एसियाकै पहिलो सामुदायिक उद्योगको रुपमा प्रमाणीकरण गरेपछि यो उद्योग चर्चामा आएको थियो । दीगो तरिकाले व्यवस्थापन गरेको वन पैदावार प्रयोग गरी सञ्चालन गरिएको यस उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सय बढीले रोजगारी पाएका थिए । उद्योग बन्द भएपछि लगानी मात्रै खेर नगएर रोजगारी पनि खोसिएको स्थानीयको भनाइ छ । यहाँ उत्पादित नेपाली हातेकागज जापान, कोरिया, जर्मनीलगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो । प्रत्येक वर्ष कागज बिक्रीबाट भएको नाफा सेयर सदस्यलाई वितरण गर्ने भनिएको भए पनि एक पटक मात्रै वितरण गरिएको स्थानीय बताउँछन् । सञ्चालन भएको दुइ वर्षपछि सेयरको आधारमा १ हजारदेखि १० हजारसम्म रकम वितरण भएको थियो ।

व्यवस्थापन पक्षकै कमजोरीका कारण उद्योग धराशयी भएको उद्योगका प्रबन्ध सञ्चालकसमेत रहेका जयपृथ्वी नगरपालिका वडा नं १ का वडाअध्यक्ष गगनबहादुर सिंहको भनाइ छ । उनले भने– ‘म वडाअध्यक्षमा निर्वाचित भएदेखि उद्योगतिर ध्यान दिन सकेको छैन । अरुलाई जिम्मा दिँदा उनीहरूले इमान्दारीपुर्वक काम गरेनन्, जसको परिणाम फरेस्ट स्टेवार्डसीप काउन्सील (एफएससी) बाट प्रमाणित एसियाकै पहिलो सामुदायिक उद्योग बन्द हुन पुग्यो । एसियाकै पहिलो सामुदायिक उद्योग यसरी बन्द हुनु दुःखद पक्ष हो ।’

उद्योगलाई पुनः सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको पनि उनले बताए । सञ्चालन भएको दुई वर्षपछि सेयरको आधारमा १ हजार देखि १० हजारसम्म रकम वितरण भएको थियो । निकट भविष्यमै उद्योग सञ्चालनमा आउने उनको जानकारी दिए ।