- कपिलवस्तु प्रतिनिधि
भारत लगिँदै गरेको अवस्थामा दुई किशोरीको उद्धार गरिएको छ । कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्र बाट आफन्त नेपाल र नेपाल प्रहरीको टोलीले उनीहरुलाई उद्धार गरेको हो ।
कपिलवस्तु र दाङ निवासी क्रमशः १७ र १८ वर्षका ती किशोरीलाई भारत लैजान खोज्दा सोधपुछ गरिएको थियो । उनीहरुले मासु लिन जान लागेको बहाना बनाइ सीमा क्षेत्र पार गर्न खोजेको आफन्त नेपालका परामर्शकर्ता वर्षा मगरको भनाइ छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका ५ डालपुर बस्ने रेनु सुनारले ती किशोरीहरुलाई भारतको ब्याङ्लोरमा डान्स गराउने उद्देश्यले लैजान लागेको खुल्न आएको छ । सुरुमा भारतीय बजारमा मासु लिन जान लागेको भने पछि उनीहरुलाई शंकाको घेरामा राखिएको थियोे । बारम्बार भारतीय नम्बरबाट कल आएपछि अझ बढी शङ्कास्पद देखिँदै गएकोले अनुसन्धान सुरु गरिएको परामर्शकर्ता मगरले बताइन् ।
किशोरीहरुलाई सोधपुछ र अनुसन्धानपश्चात् डान्स बारका लागि दिनको २ हजार भारतीय रकम दिने प्रलोभनमा पारी लान खोजेको देखिएको आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले जानकारी दिए । सुनारलाई भारतीय नागरिकले बारम्बर फोन सम्पर्क गरी गोरखपुरसम्म लिन आएको पाइएको बताइएको छ ।
उद्धार गरिएका ती किशोरीलाई बिहीबार आफन्त नेपालको सुरक्षित आवास गृहमा राखिएको उनले बताए । महिलालाई मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेव पौडेलले जानकारी दिए ।
प्रतिक्रिया