निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई देउवाको निर्देशन

निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई देउवाको निर्देशन



प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बनाउन लागिपर्ने प्रष्टोक्ति

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागिभन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस तरुण विभागले शनिबार चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ । टाउकामा जिम्मेवारी आयो भने पछि पर्नेवाला पनि छैन ।’

अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको उल्लेख गर्दै सभापति देउवाले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको स्मरण गराउँदै भन्नुभयो, ‘मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन्, त्यो हेर्नुपर्छ ।’

सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उहाँले नेता तथा कार्यकर्तालाई आग्रह गनुभयो । स्थानीय तहदेखि सङ्घीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै उहाँले जनताको घर दैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘जनता मालिक हुन्, नोकर होइनन् । भाषण गरेर मत दिँदैनन् । जनताको सुख दुःखमा साथ दिनुस् । निर्वाचन जितिन्छ ।’

कांग्रेसभित्रको आन्तरिक विवाद टुङ्गाएर अघि बढ्ने समय आएको उहाँको भनाइ छ ।

सो अवसरमा कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस सर्तसहित सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस सरकारमा जान्छ तर हात खुट्टा बाँधेर सरकारमा जाँदैन ।’ विनासर्त लोकतान्त्रिक विकल्पमा दल आउने भए मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउनुभयो । अहिलेको समयमा कांग्रेस आफै जुटेर बलियो बन्नुपर्ने उहाँको तर्क छ ।

यस्तै, कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, शङ्कर भण्डारी र देवेन्द्र कँडेलले कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गर्दैअघि बढ्नुपर्ने बताउनुभयो । अहिले देश संकटमा जान लागेको भन्दै उहाँहरुले देशलाई सही बाटोमा हिडाउने कर्तव्य पनि कांग्रेसको रहेको बताउनुभयो । राष्ट्रियता, अखण्डता, प्रजातन्त्रलाई आघात नहुने गरी लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्ने उहाँहरुले जोड दिनुभयो ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घका केन्द्रीय सदस्य उमा रेग्मी, नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष नयनसिंह महर, तरुणदल वाग्मती प्रदेशका अध्यक्ष पद्मनारायण तिमिल्सिना, तरुण युवा परिचालन समितिका हेमन्त पाख्रिनलगायत मुलुकको विद्यमान राजनीति र कांग्रेसको दायित्वका विषयमा बोल्नुभयो ।

pict:rss