गुटगत क्रियाकलापलाई गम्भीरतापूर्वक लिइएको एमाले अध्यक्ष ओलीको प्रष्टोक्ति

गुटगत क्रियाकलापलाई गम्भीरतापूर्वक लिइएको एमाले अध्यक्ष ओलीको प्रष्टोक्ति



एमालेको १०औँ महाविधेशन आगामी मङ्सिर २–६ गते

पार्टीको निर्देशनविपरीत गुटगत क्रियाकलाप गरेको तथा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको भन्दै नेकपा एमालेले नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दलको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको छ । आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने एमालेको निर्णय छ ।

शनिबारको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेललाई यथावत राख्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी बताए । यस्तै पदाधिकारी तथा स्थायी कमिटीमा रहने सदस्यका लागि अर्को बैठकमा आवश्यक निर्णय गरिने जानकारी दिइएको छ ।

महाधिवेशन आयोजक कमिटीका सदस्यको कार्यविभाजनका लागि सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझी र नेता शङ्कर पोखरेल सदस्य रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले आगामी १० दिनभित्र आवश्यक प्रस्ताव पेश गर्नेछ ।

यस्तै प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको सिफारिसमा केन्द्रीय कमिटीले प्रदेश कमिटी बनाउने निर्णय गरेको छ भने सम्बन्धित जनसङ्गठनका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष सहअध्यक्षसहित पदाधिकारीसँग सल्लाह गरेर सम्मेलन आयोजक समिति बनाउने जिम्मा नेता रायमाझीलाई दिइएको छ ।

यसैगरी, प्रदेश मातहतका जिल्ला कमिटीलाई पनि अधिवशेन गर्न निर्देशन दिँदै पालिका कमिटी तथा वडा कमिटीलाई पनि व्यवस्थितरूपमा चुस्त, दुरुस्त बनाउने निर्णय गरेको छ । बैठकले पार्टीलाई अनुशासित, जनआधारित एवं चुस्तदुरुस्त बनाउने निर्णय गर्दै नयाँ शक्तिका साथ अगाडि बढ्ने सङ्कल्पसमेत गरेको बताइएको छ ।

शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनमा उत्पन्न भएको सङ्कट, पार्टीभित्र नै अन्तरध्वंश गर्न गरिएको प्रयास तथा त्यसलाई जोगाउन नेतृत्व, सङ्गठन र पार्टीका कार्यकर्ताले गरेको प्रयासका बारेमा जानकारी गराएका थिए । अध्यक्ष ओलीले एमालेलाई कमजोर गर्ने, सही विचार र नेतृत्वलाई परास्त गर्ने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गर्दै अगाडि बढ्ने र पार्टीको नाममा भएको गुटगत क्रियाकलापलाई गम्भीरतापूर्वक लिइएको बताए ।

बालुवाटार बैठकले पार्टीभित्र नै रहेर गुटगत क्रियाकलपामा संलग्नलाई गम्भीरतापूर्वक आत्मसमीक्षा गरेर आउनेलाई स्वागत गर्ने र उचित जिम्मेवारी दिने निर्णय गर्नुका साथै एमाले संसदीय दलको विधानलाई अनुमोदन गरेको छ ।

pict:rss