भारतमा कोरोना तीव्र रुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित

भारतमा कोरोना तीव्र रुपमा फैलिन थाल्यो, एकै दिन ४४ हजार सङ्क्रमित



भारतमा कोरोना भाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

सोही अवधिमा अरु २२ हजार ९५६ जना भने सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको एएनआईले जनाएको छ ।

भारतमा अहिले कुल सङ्क्रमितको सङ्ख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको बताइएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भारतमा एक लाख ५९ हजार ७५५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बताइए अनुसार ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ । शनिबारसम्म देशभरी २३ करोड ३५ लाख ६५ हजार ११९ जनाको कोरोना परीक्षण गरिएको छ ।