गृहमन्त्रीलाई ‘डाइरेक्ट’ अनुरोध-वसन्तराज कुँवर

गृहमन्त्रीलाई ‘डाइरेक्ट’ अनुरोध-वसन्तराज कुँवर


कुनै पनि गृहमन्त्रीले चाहेमा देशलाई ठूलै योगदान दिन सक्छ । थाहा छैन यहाँ गृहमन्त्री हुनेहरूले त्यो पदप्राप्तिलाई कुन अवसरको रूपमा लिने गरेका छन्, तर आमजनताका लागि भने गृहमन्त्री पद एउटा त्यस्तो अवसर हो जहाँ पुगेर कुनै व्यक्तिले देशमा कानुनी राज्य स्थापना गरी राज्यभित्रका नागरिकलाई सुरक्षित र सम्मानपूर्वक बाँच्न सक्ने बनाउने मात्र होइन बल्कि मुलुक विकासका लागि महत्त्वपूर्ण वातावरण सिर्जना गर्न पनि सक्छ ।
यो देशमा गृहमन्त्रीले गर्न सक्ने धेरै काम छन्, त्यसमध्ये एउटा महत्त्वपूर्ण काम हो समाजमा अपराधका घटना घट्न नदिनु । गएको प्राण फिर्ता हँदैन, बगेको आँसु फेरि आँखाभित्र हाल्न सकिँदैन र त्रसित समाजलाई पनि सजिलैसँग भयमुक्त बनाउन सकिँदैन । अपराध रोकथाम गर्न एउटा गृहमन्त्रीले सुरक्षा इकाइहरूको ज्यादै ठूलो व्यवस्थापन गर्न जान्नुपर्छ र प्रत्येक अपराधलाई रोकथाम गर्न समयअनुकूल सङ्गठनात्मक परिवर्तन गरी अपराध नियन्त्रणका विभिन्न रणनीति र कार्यनीति पनि बनाउन सक्नुपर्छ ।
समाजमा अपराध घट्ने धेरै कारण छन् त्यसमध्ये प्रत्यक्ष-अप्रत्यक्ष रूपमा ८० प्रतिशत कारकतत्त्व नसा लाग्ने वस्तु अर्थात् ड्रग्सको प्रयोग हो भन्ने कुरा आज संसारभर प्रमाणित भइसकेको छ । आज नेपालका पनि साना गाउँदेखि ठूला सहरसम्म ड्रग्सको प्रकोपमा परिसकेका छन् र झन्डै एक लाख पचास हजार व्यक्ति निस्कनै नसक्ने गरी यसको दलदलमा फसिसकेका छन् । दु:खलाग्दो अर्को कुरा यसमा के देखिएको छ भने एक लाख पचास हजारमध्ये झन्डै एक लाख सात हजार स्कुलका केटाकेटी यसको धरापमा परी कलिलै उमेरमा आपराधिक जीवन बिताउन मात्र होइन मृत्युवरण गर्नसमेत बाध्य भइसकेका छन् । नेपालमा शान्तिसुरक्षालाई चुनौती दिने र प्रत्येक घर, परिवार, समाज र राज्यलाई नै रुवाउने ड्रग्स एउटा खतरनाक कारण बनेको छ र सौभाग्यवश यो खतरनाक प्रकोपलाई रोकेर जनतालाई राहत दिनेजस्तो पवित्र कामको अवसर सरकारले गृहमन्त्रीलाई दिएको छ । अत: हालका गृहमन्त्री गच्छदारज्यूलाई यो पवित्र काममा अगाडि बढी मुलुकलाई अविष्मरणीय योगदान दिने अवसर नगुमाउन पङ्क्तिकार सादर अनुरोध गर्दछ । तपाईं कुनै सुरक्षाकर्मी वा प्रशासकको सरुवा-बढुवामा भन्दा गृहमन्त्रीको पदलाई अवसरको रूपमा लिएर नेपाली समाजलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विषयमा हाल हाल्नुहोस् भन्ने सुझाव छ ।
हालै म नेपालको पश्चिम क्षेत्रमा रहेको नवलपरासी, बुटवल, पाल्पा, स्याङ्जा र पोखरामा ड्रग्सविरुद्ध जनचेतना जगाएर फर्किएँ । मलाई यो कुरा देख्दा औधी दु:ख लाग्यो कि हजारौँ विद्यार्थी त्यस भेगमा ड्रग्समा परिसकेका छन् । त्यसबाट मलाई महसुस भयो कि हामी जुन रफ्तारमा ड्रग्सविरुद्ध अभियान चाल्दै छौँ त्योभन्दा बढी रफ्तार ड्रग्स फैलाउनेहरूको छ । ड्रग्स फैलाउने जसरी तीव्र गतिमा अगाडि बढिरहेका छन् त्यसलाई रोक्न नसक्ने हो भने मैले हालै भ्रमण गरेका जिल्लामा भविष्यमा अझ बढी ड्रग्सको प्रकोप बढ्ने छ र त्यहाँका समाज अझ बढी असुरक्षित हुनेछन् ।
गत कात्तिक २६ गते शनिबार मैले नवलपरासीको पञ्चनगर गाविसमा ठूलो समूहका आमजनताबीच ड्रग्सको शिक्षा दिएँ । त्यहाँ धेरै भारतीय सेनाका परिवार पनि बसोबास गर्दा रहेछन् । त्यहाँ एक भारतीय सेनाको भूपू कप्तान साबसँग पनि मेरो भेट भयो । उहाँले धेरै भारतीय सेनाका केटाकेटी पनि ड्रग्समा परेको बताउनुभयो । तिनलाई कसरी बचाउन सकिन्छ भन्नेबारे हामीले केहीबेर महत्त्वपूर्ण छलफल गर्‍यौँ । नवलपरासीको पूर्व-पश्चिम हाईवेेमा रहेका बर्दघाट, पञ्चनगर, सुनौललगायत अधिकांश स-साना सहर-बस्तीहरूमा पनि दुईदेखि पाँचजनासम्म युवा ड्रग्सका कारणले मर्न थालिसकेको जानकारी स्थानीयवासीले जानकारी दिए र अब अरूलाई मर्नर् नदिन कसरी ड्रग्सलाई रोक्ने ? भन्नेबारे उनीहरूले मसँग जिज्ञासा राखे । पञ्चनगर गाविसमा यही कुरा जान्नका लागि नै उनीहरूले मलाई त्यहाँ बोलाएको पनि बताए । जे होस्, म त्यहाँ रात नै बसेर स्थानीयवासीलाई ज्ञान दिँदै गएँ तर माहोल ड्रग्सका हिसाबले त्यस नवलपरासी जिल्ला खतरनाक भइसकेको नै मैले पाएँ ।
नवलपरासीपछि म कात्तिक २७ गते बुटवल पुगेँ र त्यहाँको होराइजन नामको हजारौँ विद्यार्थी पढ्ने स्कुलमा कक्षा लिएँ । होराइजन स्कुल राम्रो लाग्यो तर बुटवलको अवस्था भने ड्रग्सका हिसाबले ज्यादै संवेदनशील भइसकेको रहेछ । बुटवल अहिले ड्रग्स सेवन गर्ने मात्र होइन सुनौलीबाट ड्रग्स ल्याएर पोखरा, बाग्लुङ, पाल्पा, स्याङ्जातर्फव्यापार गर्ने थलो पनि बनेको रहेछ । बुटवलमा धेरै युवकको ड्रग्सको कारणले मृत्युसमेत भइसकेको पनि रहेछ । युवतीहरू पनि केही ड्रग्समा परिसकेका रहेछन् । त्यहाँ मैले एक उपचार केन्द्रमा पनि भिजिट गरी त्यस क्षेत्रको अवस्थाबारे जानकारी लिएँ । धेरै युवायुवती त्यस क्षेत्रमा ड्रग्समा परिसकेको जानकारी मैले त्यहाँबाट पनि पाएँ । यो जानकारी मेरा लागि दु:खद् थियो ।
तेस्रो ठाउँ मैले पाल्पा तय गरेको थिएँ । म बुटवलबाट कात्तिक २८ गते पाल्पा पुगेँ र त्यहाँ ठूलो समूहबीच विशेषगरी मेडिकल पर्सनहरूलाई ड्रग्स एजुकेसन दिएँ । त्यहाँको मानवअधिकार कार्यालय र रेडक्रस मिलेर मलाई आमन्त्रण गरिएको थियो । ड्रग्स एजुकेसन कार्यक्रम सकिएपछि मैले त्यस कार्यक्रममा भाग लिएका पत्रकार, समाजसेवीलगायत स्थानीय व्यक्तिहरूसँग पाल्पा जिल्लाको ड्रग्सको अवस्थाबारे छलफल गरेँ । मलाई त्यहाँ पनि दु:खद् समाचार नै प्राप्त भयो । ड्रग्सले युवकहरूलाई त्यो जिल्लामा पनि मार्न थालिसकेको रहेछ ।
पाल्पाबाट २९ गते म स्याङ्जा गएँ । मेरो स्याङ्जा सदरमुकाममा ठूलो जनचेतना कार्यक्रम थियो । स्याङ्जा सदरमुकाम जाँदा म वालिङ बजारमा छिरेँ । त्यहाँ भूतपूर्व सैनिकले चलाएको स्कुलमा ड्रग्स एजुकेसन पनि दिएँ । त्यसपछि म वालिङ बजार घुमी स्थानीय मानिसलाई भेटेर त्यस क्षेत्रमा ड्रग्सको अवस्थाबारे छलफल गरेँ । वालिङका अधिकांश पुरुष सदस्यहरू विदेशमा कामका लागि वा बसाइँ सरी जानुभएको रहेछ । लगभग दुई घन्टा त्यहाँ बसी मैले त्यहाँको वास्तविकता पत्ता लगाउन खोज्दा त्यहाँको पनि अवस्था बहुतै दु:खद् नै पाए । धेरै युवा त्यस क्षेत्रमा नराम्रोसँग ड्रग्समा परिसकेका रहेछन् । त्यहाँ ब्रिटिस सेनाका परिवारमा पनि प्रशस्त ड्रग्सको समस्या रहेको अनुभव गरँे । वालिङबाट स्याङ्जा सदरमुकाम आई रोशनी स्कुलले आयोजना गरेको कार्यक्रममा मैले ठूलो जनसमूहलाई ड्रग्सबारे सचेत बनाएँ । स्याङ्जामा ड्रग्सविरुद्ध सक्रिय पूर्वलागूऔषधकर्ताहरूसँग भेटी उनीहरूसँग पनि जानकारी लिएँ । स्याङ्जा पनि पश्चिम क्षेत्रमा ड्रग्सका दृष्टिले ज्यादै खतरामा रहेको जिल्लाको रूपमा मैले पाएँ । स्याङ्जाको रोशनी बोर्डिङमा कक्षा लिई म ३० गते पोखराको गण्डकी बोर्डिङ स्कुलमा कक्षा लिन पुगँे । बाटाभरि स्याङ्जा जिल्लालाई कसरी जोगाउने ? होला भनेर सोचिरहेँ । पोखरा त ड्रग्सका हिसाबले खतरामा छँदै थियो अहिले त्यो खतरा झन् बढेको रहेछ । पोखरामा हजारौँ विद्यार्थी, शिक्षक, सीडीओ, प्रहरी अधिकृतहरू मेरो कार्यक्रममा सहभागी थिए ।
पोखरापछि काठमाडौं र्फकंदा मलाई त्यस क्षेत्रमा ड्रग्सबाट युवकयुवतीलाई जोगाउन शक्ति मिलोस् भनेर प्रार्थना गर्न म मनकामना मन्दिरमा उक्लिएँ । मनकामना मन्दिरमा दोहोरी गीत कार्यक्रम रहेछ । हजारौँ आमाबाबु छोराछोरीहरू गीतमा मस्त झुमिरहेका थिए र त्यसमध्ये कति रक्सी र ड्रग्समा झुमेका पनि देखिन्थे । त्यस दिन मलाई दु:ख यस कुरामा लाग्यो कि त्यस क्षेत्रका मानिसहरू दोहोरी गीत सुन्न हजारौँको सङ्ख्यामा भेला भएका थिए तर ड्रग्सबारे बुझ्न कसैलाई फुर्सद थिएन ।
आज हरेक समाजले ड्रग्सबारे बुझ्नभन्दा पनि बढी प्राथमिकता दोहोरी गीत र मनोरञ्जन कार्यक्रम हेर्ने वा साथीभाईलाई बोलाई पार्टीमा जाने वा खेलकुदमा मनोरञ्जन लिने कुरामा दिएको देखिन्छ । यही काम नेपालका गाउँगाउँमा पनि भइरहेको छ । ड्रग्सबारे कसैले ध्यान दिएका छैनन् । बुझ्न पनि खोजेका छैनन् । विदेशमा बस्ने नेपालीले पनि ड्रग्सलाई भन्दा बढी प्राथमिकता दोहोरी गीतलाई दिएका छन् । यो गल्ती सबैलाई महँगो पर्नेछ । कतिलाई यो गल्ती महँगो परिसकेको पनि छ ।
म यो लेखद्वारा विशेषगरी गृहमन्त्रीज्यूलाई के निवेदन गर्न चाहन्छु भने यदि तपाईं आफ्नो देश र समाजमा ड्रग्स रोक्न चाहनुहुन्छ भने त्यसका लागि तपार्इंले केही कोसिस र परिश्रम पनि गर्नुपर्छ । जसले ड्रग्स लिएकै छैनन् तिनलाई जोगाउन समयमै ड्रग्सविरुद्ध देशव्यापी जनचेतना कार्यक्रम चलाउनुपर्छ । जो दुर्व्यसनी भइसकेका छन् तिनलाई छिट्टै उपचार केन्द्रमा पठाउनुपर्छ । जो उपचारपश्चात् समाजमा फर्किएका छन् तिनलाई पुन: ड्रग्समा पर्न नदिन मद्दत गर्नुपर्छ र प्रत्येक समाजमा आ-आफ्नो टोललाई दुर्व्यसनमुक्त बनाउन दबाब समूह गठन गराउनुपर्छ र ड्रग्सका कारोबारीलाई कानुनी रूपले निष्त्रिmय पनि बनाउँदै जानुपर्छ । यो सब कामका लागि यो देशमा अहिलेसम्मका लागि गृह प्रशासन नै जिम्मेवार रहेको छ । मन्त्रालयमा हेर्ने हो भने गृहमा मात्र लागूऔषध नियन्त्रण गर्ने महाशाखा छ भने कानुनले नै प्रमुख जिल्ला अधिकारीलाई जिल्ला-जिल्लामा ड्रग्स रोक्ने जिम्मेवारी दिएको छ । अत: समाजमा ड्रग्स बढ्नुलाई गृहमन्त्रीको असफलतासँग पनि जोडेर हेर्न मिल्दछ । हालै म गएका जिल्लामा स्थानीय आयोजकले त्यहाँका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आमन्त्रण गरे पनि पाल्पा, स्याङ्जा र कास्कीका बाहेक रूपन्देही र नवलपरासीका प्रशासक त्यहाँ मैले देखिनँ । यसलाई त्यहाँका प्रशासकले ड्रग्सको डरलाग्दो प्रकोप र आफ्नो भूमिकालाई राम्ररी नबुझेझैं पनि लाग्यो ।
त्यसैले हालका गृहमन्त्री गच्छदारज्यूमा म के अनुरोध गर्न चाहन्छु भने तपाईं नेपाली जनतालाई ड्रग्सबाट जोगाउन ऐतिहासिक योगदान दिन अगाडि बढ्नुहोस् । मैले यस क्षेत्रमा बटुलेको २४ वर्षको अनुभव तपार्इंको मिसनलाई सफल पार्न नि:शुल्क प्रदान गर्ने प्रण गर्दछु । यो पवित्र काम गर्ने अवसर सिटौलाजस्ता मन्त्रीले झैं नगुमाउनुहोस् । यो मेरो गृहमन्त्रीज्यूलाई डाइरेक्ट अनुरोध छ ।