- प्रतीक्षा खड्गी (सुवेदी), अष्ट्रिया
यसै महिना (मार्च ६)को एक खबरले अष्ट्रियन मेडियामा हलचल मच्चायो, त्यो समाचार थियो- ‘तल्लो अष्ट्रिया राज्यको एक अस्पतालमा काम गर्ने ४९ वर्षीया स्वास्थकर्मी (नर्स)को कोरोनाविरुद्धको अस्ट्राजेनेका खोपपछि उत्पन्न शारीरिक प्रतिक्रियापछि उपचारको क्रममा भियनास्थित जनरल अस्पतालमा मृत्यु भयो ।’
मृत्युको कारणमा स्पष्ट उल्लेख गरिएको थियो- अस्ट्राजेनाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाएपछिको प्रतिक्रिया ! साथै, सोही अस्स्पतालमा काम गर्ने अर्की एक ३४ वर्षीया महिला स्वास्थ्यकर्मीलाई फोक्सोमा पानी जमेको देखिएको थियो ।
उल्लिखित दुई घटनाले युरोपमा हलचल ल्यायो । केही युरोपियन मुलुकले खोप कार्यक्रमलाई यथास्थानमा राख्ने बताए भने कसैले खोप कार्यक्रम रोके पनि । अष्ट्रियाले चाहिँ खोपलाई नरोक्ने भने तापनि अधिक नागरिकले स्वतःस्फुर्त खोप कार्यक्रममा भाग लिएनन् । अहिलेसम्म पनि सरकारी तहबाट खोपबारे भरोसायुक्त भाषामा विविध विषयहरू बाहिर आए पनि आमनागरिक तह तथा खोप लगाउन बाँकी रहेका स्वास्थ्यकर्मीहरूले खोप लिन अस्विकार गरेका छन् । यसको कारण अस्ट्राजेना खोपको लाखौँ संख्या त्यत्तिकै रहेको समाचारहरूमा बताइएको छ ।
यसैबीच मृत्यु भएको भनिएको ४९ वर्षीया स्वास्थकर्मीको मृत्युको कारणबारे परीक्षण भइरहेको थियो । बाहिर भनिएको थियो कि मृत्यु भएकी महिलामा केही पुराना (क्रोनिक) रोगहरू थिए, त्यही पुराना रोगसँगै खोपका कारण उनको मृत्यु भएको थियो । तर निष्कर्ष भने अर्कै निस्किएको छ ।
मृत्यु भएकी महिलाको मृत्यु कुनै क्रोनिक रोग भएर भएको नभई अस्ट्राजेनेकाबाट उत्पादित कोरोनाविरुद्धको खोपकै कारण रक्तसञ्चार प्रणाली अवरुद्ध भइ खुट्टामा Coagulation disorder बनेको (जसलाई Thrombosis पनि भनिन्छ) र सोही Thrombosis लाई सही समयमा पहिचान गर्न नसकिएको कारण फोक्सोमा पानी जमेको (Embolism) कारण महिलाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएकी स्वास्थ्यकर्मी महिलामा अन्य कुनै दीर्घरोग नरहेको भियना जनरल अस्पतालले जनाएको छ ।
ज्ञातव्य छ, रक्तसञ्चारका कारण मानव शरीरका आर्टरी तथा भेन (रक्तबाहन नली) हरूमा यो किसिमको शारीरिक कारणले Thrombosis बन्ने गर्दछ, (यसका विविध कारण हुन्छन्) जो अत्यन्त प्राणघातक हुने गर्दछ । यसका कारण टाउकोको रक्तसंचार प्रणाली अवरुद्ध हुँदा मस्तिष्कघात र मस्तिष्कघातपछि पक्षघात तथा फोक्सोमा पानी जमेपछि सोही कारण मुटुको काम गर्ने अवस्थालाई कमजोर बनाई १२ घण्टाभित्र मानिसलाई मृत्युको मुखमा पुग्न बाध्य पार्दछ । तर सही समयमा यो अवस्थालाई पहिचान गर्न सकियो भने केही औषधिपछि खतरामुक्त पनि बनाउन सकिन्छ ।
symbolic image
प्रतिक्रिया