- राजन घिमिरे
स्टुडेण्ट भाइस अष्ट्रेलियाको प्रस्तुतिमा ‘अब म पनि बोल्छु’ शीर्षकमा सिड्नीको ग्रायनभिलमा वृहत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । यस्तो किसिमको कार्यक्रम अष्ट्रेलियामा नेपाली समाजले पहिलोपटक आयोजना गरेको हो । प्रतियोगितामा भुवन तिमल्सिना तेस्रा, अनिता पौडेल दोस्रा र रोशन कादरिया पहिलो हुन सफल भएका छन् ।
अष्ट्रेलियामा सिकेको सीप र ज्ञानलाई नेपाल भित्र्याउन युवाहरूको भूमिका विषयलाई प्रतियोगिताले मूल रूपमा उठान गरेको थियो । प्रतियोगितामा आचार्य राजन शर्मा, भीमसेन सापकोटा, साउदर्न ऐकेडेमीका सिइओ मन के.सी., सिड्नी सिटी कलेज अफ मेनेजमेण्टकी प्रिन्सीपल रन्जु वाग्ले थापा, लिडरशीप विनोद पौडेल र ओपेरा ऐकेडेमीकी बोर्ड मेम्बर अनु रेग्मी निर्णायक रहेका थिए । प्रतियोगितामा १२ जना उत्कृष्ट प्रतियोगिहरू भर्चुअल अडिसनबाट छनौटमा परेका थिए ।
कार्यक्रमको संयोजकमा मदन कोइराला र बद्री बरूवाल रहेका थिए भने प्रतियोगितामा प्रथम हुनेले ५ सय अष्ट्रेलियन डलरको साथमा थप बोनस २ सय डलर, प्रमाण पत्र, ट्रफी, मेडल, २५० डलर बराबरको हेयर एण्ड ब्यूटी भौचर र २ सय डलरको ममको भौचर प्राप्त गरेका छन् ।
यसैगरी दोस्रो हुनेले ३ सय अष्ट्रेलियन डलरको साथमा थप बोनस १ सय डलर, प्रमाण पत्र, ट्रफी, मेडल, २५० डलर बराबरको हेयर एण्ड ब्यूटी भौचर र एक सय पचास डलरको ममको भौचर प्राप्त गरेका छन् ।
प्रतियोगितामा तेस्रो हुनेले आयोजकको तर्फबाट २ सय डलर र १ सय डलर बोनसको साथै ट्रफी, प्रमाण पत्र, २५० डलरको हेयर एण्ड ब्यूटी भौंचर र एक सय डलरको ममको भौचर जितेका छन् ।
आयोजकले यसअघि रेखा मेमोरियल ट्रष्टको सहकार्यमा म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ अध्यनरत १८ वर्षीय कोपिला पुनलाई नगद पचास हजार सहयोग गरेको थियो । पुनः विगत लामो समयदेखि दीर्घरोगपीडित थिए । पढाइमा अत्यन्त रुचि राख्ने पुनले आफ्नो सपना पूरा गर्न सबै जनाको साथ पाउँदा आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा मदन कोइराला र बद्री बरूवालले सहभागीहरूलाई धन्यवाद ब्यक्त गरेका थिए भने यस प्रतियोगिताको अर्को सिजन चाँडै आउने जानकारी दिएका छन् ।
प्रतियोगिताको प्रमुख आतिथ्यता गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देवबहादुर गुरूङले गरेका थिए भने कार्यक्रमको विशेष अतिथिमा गरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता नन्द गुरूङ थिए भने कार्यक्रममा एक्काका अध्यक्ष भूपाल सिटौलालगायतका ब्यक्ति ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बाबा ऐजुकेसन कन्सल्टेन्सी र आरके एस अष्ट्रेलियाका सिइओ रवीन्द्रकुमार शर्माले युवा पुस्तालाई जागरूक गराउने यस्ता खाले प्रतियोगिता साँच्चै फलदायी हुने बताए ।
प्रतिक्रिया