काङ्ग्रेस महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुन सक्ने

काङ्ग्रेस महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुन सक्ने



नौ जिल्लाले अझै पठाएनन् क्रियाशील सदस्यताको विवरण

नौ जिल्लाले कांग्रेस क्रियाशील सदस्यको विवरण पठाउन बाँकी रहेको कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिएका छन् । यसबाट कांग्रेसको आगामी महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुन सक्ने देखिएको छ ।

पार्टी कार्यालयमा सोमबार सञ्चारकर्मीलाई जानकारी दिँदै नेता लेखकले बारा, सिराहा, सप्तरी, धनुषा, बाँके, बर्दिया, रुकुम पूर्व, डोल्पा र रसुवाबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरणको विवरण प्राप्त हुन नसकेको बताए । हालसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको उनले जानकारी दिए ।

बताइएअनुसार हालसम्म दुई लाख १२ हजार ५१९ जनाको क्रियाशील सदस्यता नवीकरण भएको र एक लाख ८० हजार २७५ नयाँ क्रियाशील सदस्यता वितरण गरिएको छ ।

महाधिवेशन कार्यतालिकाअनुसार जिल्लाहरूले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको सबै विवरण चैत १० भित्र सबै केन्द्रमा पठाइसक्नुपर्ने थियो । समयमै विवरण नपठाउने जिल्लाले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा भाग लिन नपाउने प्रावधान छ ।

अहिले पार्टीमा झण्डै पाँच लाख क्रियाशील सदस्य रहेको र पार्टीको आगामी महाधिवेशनसम्म क्रियाशील सदस्यको सङ्ख्या १० लाख पुग्ने पनि नेता लेखकले दाबी गरे ।