दक्षिण कोरियाली राजदूत सुकको स्वागत

दक्षिण कोरियाली राजदूत सुकको स्वागत



नेपाल तेक्वान्दो संघले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीले खादा र पुष्पगुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकालको पूर्ण सफलताका लागि सुकलाई शुभकामना दिएका थिए ।

सो अवसरमा तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले सुकलाई प्रशंसापत्र प्रदान गरे भने महासचिव दीपराज गुरुङले माया चिनो प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुकले नेपालमा तेक्वान्दो खेल निकै लोकप्रिय रहेको र खेलाडी संख्या पनि उल्लेख्य रहेको आफूलाई जानकारी भएको धारणा व्यक्त गरे । उनले नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली खेलाडीले उत्कृष्ट नतिजा हासिल गरेकोमा बधाइ दिदै अब टोकियो ओलम्पिकमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

अध्यक्ष राणाले नेपाली तेक्वान्दोको विकासमा कोरियाली सरकारको महत्वपूर्ण रहँदै आएको स्मरण गर्दै सुकको कार्यकालमा सहयोगले अझ व्यापकता पाउने विश्वास व्यक्त गरे । सो अवसरमा एनटीए डेमो टिमले आकर्षक प्रस्तुती प्रदर्शन गरेका थिए ।