टोकियो महानगरको आदेशविरुद्ध मुद्दा दायर

टोकियो महानगरको आदेशविरुद्ध मुद्दा दायर


  • जापान प्रतिनिधि

कोरोना भाइरस नियन्त्रणको प्रयासस्वरुप व्यवसाय चाँडै बन्द गर्ने टोकियो महानगरको आदेशविरुद्ध एक रेस्टुरेन्ट संचालकले महानगरमाथि मुद्दा दायर गरेको छ । ग्लोबल डाइनिङ नामक रेस्टुरेन्टका संचालकले सोमबार महानगरविरुद्ध टोकियो जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

जापानको हाल कायम संविधानमा नागरिकलाई व्यवसाय बन्द गर्न तथा समय छोट्याइन जबर्जस्ती बाध्य पार्न पाइने प्रावधान नभएको र महानगरले संविधान प्रदत्त अधिकारमा अंकुश लगाउने विधेयकमा टेकी सो आदेश जारी गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

यसअघि सरकारले कोरोना संक्रमण बढ्दै गर्दा रेस्टुरेन्ट व्यवसायहरुलाई ८ बजे व्यवसाय बन्द गर्न अनुरोध गर्दै आएको थियो । तर केही व्यवसायीले सरकारले अनुरोध गर्दा पनि व्यवसायको समय नघटाई नियमित रुपमा संचालन गरेको पाइएको थियो । ती रेस्टोरेन्टहरुलाई सरकारको अनुरोध नमान्नुको कारण सोध्दा उपयुक्त कारण नखुलेका २६ ओटा व्यवसायीहरुलाई ८ बजेभित्र बन्द गर्ने आदेश दिएको थियो ।

संविधानले स्वतन्त्र रुपमा व्यवसाय गर्ने अधिकार प्रदान गरेको भएता पनि विशेष विधेयक नाममा अंकुश लगाएको भन्दै, ग्लोबल डाइनिङका अध्यक्ष हासेगावा कोजोले महानगरमाथि मुद्दा दायर गरी क्षतिपूर्तिको माग गरेका हुन् ।